Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

असन्तुष्टीको बहानामा शिंहदरबार जलाउनु उचित ठहरिन्छ ? – ज्ञवाली


  • मंगलबार, पुष २९ २०८२

  • असन्तुष्टीको बहानामा शिंहदरबार जलाउनु उचित ठहरिन्छ ? – ज्ञवाली

    काठमाडौं – नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले नेपाली कांग्रेस लाई थप एकताबद्ध र सुदृढ बन्न शुभकामना दिएका छन । तर भदौ २४ को घटनाका बारेमा विशेष महाधिवेशनमा उठाईएका विषय प्रति भने उनले चिन्ता ब्यक्त गरेका छन । ज्ञवाली भन्छन् – ‘तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर छ ।’

    नेता ज्ञवालीको थप भनाई यस्तो छ :

    नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो यौटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् ।

     

    तर कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गंभीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरुसँग समाज, सत्ता र संस्थाहरुको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरुले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरुको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुशपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरुलाई मानवढाल बनाउने कृत्यमा सङ्लग्नहरुलाई पनि ’जेन्जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर् याउने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ ।

     

    समाजमा असन्तुष्टिहरु हुन्छन् । आज पनि छन् । ४ महिना बित्दानबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– उर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरुको उपचारमा गरिएको वेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा सङ्लग्नहरुलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरुका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘जेन्जी अभियन्ता’ हरु असन्तुष्ट छन् ।

    तर यसको अर्थ अब यसै बहानामा पुनः सिँहदरबार जलाउनु उचित ठहरिन्छ ?

    अराजकता र आन्दोलन एउटै होइनन् । विध्वंश र विद्रोह एउटै होइनन् ।

    आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरु हुन्छन् ।

    नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर् याउन थालियो भने कहाँ पुगिएला ?

    राजनीतिमा साधन र साध्यको सङ्गतिपूर्ण अन्तरसम्बन्ध हुनुपर्छ । गलत साधनबाट सही साध्यमा पुग्न सकिँदैन ।

    विध्वंशका ‘नायक’ हरु त अरुहरु नै छन् । कोही भदौ २४ मै दिग्विजयी मुद्रामा जेलबाट बाहिर निस्केर सिँहदरबार जाँदै थिए, कोही ‘भावी प्रधानमन्त्री’ को पगरी गुथेर त्यही खरानी टेक्दै अगाडि बढ्दैछन् ।

    नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरु त्यही बाटोमा नहिँडे हुने हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij