Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन


  • सोमबार, असार २३ २०८२

  • दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं – दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियोे । दुबै समूहको शेयर भर्ने आज अन्तिम दिन हो।

    कम्पनीले गुल्मी र बाग्लुङ आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले गुल्मी जिल्लाका मुसिकोट नगरपालिका, तथा बाग्लुङजिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउपालिकाका स्थानीयलाई १० लाख ३० हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गाल्कोट शाखा, प्रभु बैंकको गाल्कोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

    त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij