काठमाडौं – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर भएको छ। पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले अनुसन्धान गर्दा विभिन्न ठाउँमा गरेको खर्च र लगानी कुल २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ थियो। त्यस्तै १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन भएको देखिएको हो। कुल खर्च तथा लगानी र आयआर्जन घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँको सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो कायम गरी अख्तियारले आयआर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना तिराएर उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ।
सम्पत्ति जफतकै लागि उनकी श्रीमती उर्मिला बस्नेतलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। विशेष अदालतमा नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
