Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड


  • शनिबार, माघ २६ २०८१

  • समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड

    काठमाडौं, २६ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनैतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रुपान्तरणमा जोड दिने नीति लिएको बताउनुभयो ।

    आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलाल, नोकरशाही, पुँजीपति र विचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरुले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकरणको मौलिक बाटो समात्नुपर्ने बताउनुभयो ।

    स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरुको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने बताउनुभयो । आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरुलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।

    चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रुपमा स्थापित गरेको जानकारी दिंदै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाउनुभयो । किसान महासंघले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

    आफूले राजनीतिको सुरूवात किसान संघबाटै गरेको स्मरण गराउँदै उहाँले यो संगठनलाई किसानको घर र खेतबारीसम्म पुर्याउनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले फागुन १२ गते देखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखामा हुने मध्य पहाडी लोकमार्गकेन्द्रित अभियान सफल बनाउन किसान महासंघलाई निर्देशन दिनुभयो ।

    बैठकमा अध्यक्ष चित्रबहादुर श्रेष्ठलेसंक्षिप्त प्रतिवेदन पेस भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव नहेन्द्र खड्काले गर्नुभएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij