रमेश गिरी
भक्तपुर, ८ मङ्सिर ः जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीच संवाद विषयक दुईदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काँडाघारीस्थित अक्षरा स्कुलमा आजबाट सुरु भएको छ ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य शाश्वत सभा नेपाल, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल तथा श्री चैतन्य शास्वत संस्था पश्चिम बंगाल भारतको आयोजना र अक्षरा स्कुलको सहआयोजना भएको सम्मेलनको आज कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नुभयो ।
उहाँले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई हाम्रो अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख कार्कीले जीवनको उत्पत्ति र क्रमिक विकासलाई बुझ्न नसक्दा मानव अध्यात्मबाट विमुख हुँदै गइरहेका चर्चा गर्दै उहाँले अझ नयाँ पुस्तामा भौतिकवादी सोच हावी हुँदा जीवन र जगतलाइ हेर्ने दृष्टिकोण अपूर्ण रहेको बताउनुभयो ।
विज्ञानले जैविक र रासायनिक प्रक्रियाका माध्यमबाट बुझ्ने प्रयास गरेको छ भन्दै उहाँले वेदान्त दर्शनले जीवनलाई एक दिव्य र आध्यात्मिक अभिव्यक्ति मान्दै यसको शाश्वत दृष्टिकोण एकअर्काका पूरक एवं यिनको बीचको समन्वयले जीवनको गहिरो रहस्यलाई उजागर गर्न सम्मलनले मद्दत पुर्याउने बताउनुभयो ।
सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर चिन्तन र मनन गर्ने प्रमुख उद्देश्यका साथ सम्मेलन सुरु भएको सहओायजक अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले बताउनुभयो ।
उहाँले सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नयाँ पुस्तामा नहुँदा हाम्रो पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएकाले नयाँ पुस्तामा मूर्तिको पुजा गरेर मात्रै हुदैन, आफूभित्रको ब्रम्हको पहिचान गरेर अगाडि बढ्न प्रेरणा दिने उदेश्यले सम्मेलन आयोजना गरेको बताउनुभयो ।
“संस्कारयुक्त शिक्षाको दर्शनलाई सिकाइसँग जोडेर लैजान १५ वर्षदेखि मैले अनवरतरुपमा प्रयास गरिरहेको छुँ, हाम्रो देश नेपाल देवभूमि, तपोभूमि र ज्ञानभूमिका रुपमा विश्वमा चिनिन्छ”, कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो, “जहाँ शिवले ध्यान र ज्ञान बाँडे, बुद्धले शान्तिको मार्ग देखाए, वेदव्यासले वेदको रचना गरे, जनकजस्ता राजर्षिले राज्य गरे, गोरखनाथले तप गरे, याज्ञवल्क्य, विश्वामित्र, कपिलमुनि, गौतम, ऋष्यशृङ्ग वाल्मीकिजस्ता ऋषिहरुको तपस्थली बन्यो, यस्तो पावन र पवित्र भूमिमा अध्यात्म र विज्ञानलाई जोडेर लैजान सम्मेलनले उर्जा थपेको छ ।”
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिद्धानहरुले नेपाल अध्यात्मको केन्द्र हुनुपर्छ भन्ने मान्यता राख्दै आएको अवस्थामा यस सम्मेलन नेपालका लागि कोसेढुङ्गा सावित हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा डा. भक्ति निष्काम सन्त माहाराजले जैविक र रासायनिक प्रक्रियाको आधारमा जीवनको उत्पत्ति र विकास भएको स्मरण गर्दै प्राकृतिक चयन र अनुकूलन, डार्बिनको विकासवादी सिद्धान्त, उत्परिवर्तनको सिद्धान्तलगायत बिभिन्न सिद्धान्तले यसको पुष्टी गरेको बताउनुभयो । मानव मनको शान्तिको स्रोत र जीवनअघिको अवस्था एवं जीवनपछिको अवस्थाबारे रहस्य खोतल्न वेदान्तमै पुग्नु पर्ने बताउदै उहाँले बेदान्तबाटै बिज्ञान अगाडि बढेको चर्चा गर्नुभयो ।
सम्मेलनमा नेपाल, भारत, अमेरिका, श्रीलंकालगायत बिभिन्न राष्ट्रका ३० जनाभन्दा बढी प्रतिष्ठित वैज्ञानिक र आध्यात्मिक चिन्तक एवं विज्ञ प्रोफेसर, दुईदिनसम्म कार्यपत्र प्रस्तुत गरि सम्मेलनमा सहभागि ३०० भन्दा बढीको छलफलले वेदान्त र विज्ञानको अन्तरसम्बन्धबारे प्रस्ट्याउने छ ।
सम्मेलनमा बिभिन्न राष्ट्रका डा. श्रील भक्ति माधव पुरी महाराज, डा. श्रील भक्ति निष्काम सन्त माहाराज, डा. श्रील भक्ति विज्ञान मुनि महाराज, संहिताशास्त्री अर्जुन बास्तोला, श्री चैतन्य कृष्ण प्रभु, वरिष्ठ न्युरोलजिस्ट डा. जेपी अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. अच्युत तिवारी, प्राध्यापक डा. रामेश्वर अधिकारी, प्राध्यापक मोहन राव, प्राध्यापक एमबी जगन्नाधाम, डा. गर्ग चटर्जी, डा. कुमार भान्का, सहप्राध्यापक डा. गोपीचन्द्र काफ्ले, सहप्राध्यापक डा. निर्मलमणि अधिकारी, सहप्राध्यापक डा. चित्रबहादुर बानियाँ, सहप्राध्यापक डा. दीपेन्द्र पराजुली, प्राज्ञ भरत गिरी, डा. भुवनेश्वरी राव, श्रीपाद कृष्ण केशव प्रभु, डा. सुमंगलादेवी दासीलगायतले आफ्ना अनुसन्धानको निष्कर्षलाई प्रस्तुत गर्नुहुनेछ ।–––
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
