Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान


  • बिहिबार, भाद्र २० २०८१

  • संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान

    काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ ।
    सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आह्वान गर्नुभएको हो । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
    जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको ब्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’
    प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
    जनयुद्धका महान सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘यो हामी सबैका लागि खुशी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ ।’
    त्यस्तै जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको बताउनुभयो ।
    जनयुद्धका महान सहिदहरुलाई पार्टी र सरकारले गरेको यो सम्मानलाई जनस्तरसम्म बुझाउनुपर्ने उल्लेख गर्दै उहाँले नेता कार्यकर्ताहरुलाई यसमा ध्यान दिन आग्रह गर्नुभयो । आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन आग्रह गर्दै उहाँले संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको पनि बताउनुभयो । परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादति र अपमानविरुद्ध संघर्ष गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
    पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि नै हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको भए पनि शान्ति प्रक्रियापछि सहिदका फरक फरक स्मृति दिवस र प्रतिष्ठान बनाउने क्रम चलेकाले यसमा सच्याएर जाने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी पुनर्निर्माणको प्रक्रियामा भएकाले आगामी केन्द्रीय समिति बैठबाट सहिदको स्मृति दिवसबारे एकरुपता कायम गर्ने गरी नीगितरुपमा व्यवस्था गरिने जानकारी दिनुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij