Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनीतिमा उत्तराधिकार रगतले कि विचारले ?


  • बिहिबार, असार ३२ २०८३

  • राजनीतिमा उत्तराधिकार रगतले कि विचारले  ?

    — जयप्रकाश आनन्द

     

    राजनीतिलाई यदि कुनै परिवारको निजी सम्पत्ति मान्ने हो भने उत्तराधिकार अनुवांशिक हुन सक्छ। तर राजनीतिलाई जनताको सार्वभौम अधिकार, विचारको आन्दोलन र लोकतान्त्रिक संस्थाको रूपमा बुझ्ने हो भने त्यसको उत्तराधिकार रगतबाट होइन, संघर्ष, विचार, नैतिकता र जनविश्वासबाट निर्धारित हुन्छ।

     

    लोकतन्त्रमा वंशले परिचय दिन सक्छ, तर वैधता दिन सक्दैन। परिवारले नाम दिन सक्छ, तर इतिहासले स्थान दिन सक्दैन। इतिहासले स्थान केवल उसैलाई दिन्छ, जसले आफ्नो जीवनलाई विचारको पक्षमा खर्च गरेको हुन्छ।

     

    दक्षिण एशियाको राजनीतिमा वंशवाद नयाँ रोग होइन। तर विडम्बना के छ भने लोकतन्त्रका सबैभन्दा ठूला प्रवचन दिने दलहरू नै बेला–बेलामा परिवारवादका सबैभन्दा ठूला संरक्षक बनेका देखिन्छन्। उनीहरू सिद्धान्तमा लोकतन्त्रको वकालत गर्छन्, व्यवहारमा राजनीतिक सम्पत्तिको अंशबण्डा गर्छन्।

     

    भारतको स्वतन्त्रता आन्दोलनमा महात्मा गाँधीले जवाहरलाल नेहरूलाई आफ्नो राजनीतिक रोजाइ बनाए। तर नेहरू गाँधीका छोरा थिएनन्, न त कुनै पारिवारिक उत्तराधिकारी। उनी आन्दोलनका परीक्षित योद्धा, संगठनका स्वीकृत नेता र वैचारिक रूपमा परिपक्व व्यक्तित्व थिए। गाँधीको रोजाइ वंशको होइन, क्षमताको थियो।

     

    नेपालमा बिपी कोईरालाको जीवनको अन्तिम समय पनि यस्तै एउटा ऐतिहासिक सन्दर्भ हो। क्यान्सरले थलिएका बेला जब उहाँलाई सोधियो—“तपाईंपछि नेपाली कांग्रेस कसले चलाउँछ?”—बिपीले आफ्नो परिवारको कुनै सदस्यको नाम लिनुभएन। उनले निसंकोच भन्नुभयो—

     

    “मपछि गणेशमान, किसुनजी र गिरिजा जहाँ रहन्छन्, त्यही नै नेपाली कांग्रेस हुनेछ।”

     

    यो कुनै सामान्य अभिव्यक्ति थिएन। यो लोकतान्त्रिक उत्तराधिकारको घोषणापत्र थियो। बिपीले स्पष्ट सन्देश दिनुभएको थियो—दल कुनै परिवारको सम्पत्ति होइन; त्यो विचारको संस्था हो। नेतृत्व रगतले होइन, संघर्षले जन्माउँछ।

     

    विडम्बना, आज त्यही कांग्रेसमा कहिले कोईराला थर, कहिले सिंह थर, कहिले निधी वा अन्य पारिवारिक पहिचानलाई राजनीतिक वैधताको प्रमाणपत्र बनाउने प्रयास देखिन्छ। अझ रोचक त के छ भने सुशील कोईरालापछि पार्टी सभापति बन्ने क्रममा स्वयं शेरबहादुर देउवाले वंशवादी दाबीको कडा प्रतिवाद गरेका थिए। तर पछि आफ्नै राजनीतिक ध्रुवीकरणलाई वैध देखाउन प्रकाशमान सिंह, शशांक कोईराला, शेखर कोईराला र विमलेन्द्र निधिजस्ता नेताहरूको उपस्थिति “वास्तविक कांग्रेस” को प्रमाणका रूपमा प्रस्तुत गरियो। यसले सिद्धान्तभन्दा सुविधालाई प्राथमिकता दिने राजनीतिक संस्कृतिको परिचय दिन्छ।

     

    पाकिस्तानमा जुल्फिकार अली भुट्टोपछि बेनजीर भुट्टो अगाडि आइन्। तर बेनजीरको परिचय केवल “भुट्टोकी छोरी” भनेर दिनु अन्याय हुन्छ। उनले जेल भोगिन्, निर्वासन सहिन्, सैनिक तानाशाहीसँग जुधिन् र जनताको कठोर परीक्षण पार गरेर नेतृत्व स्थापित गरिन्। उनले वंशको नाम पाए पनि नेतृत्व आफ्नै संघर्षले कमाइन्।

     

    यही भिन्नता बुझ्नु आवश्यक छ। परिवारबाट अवसर प्राप्त गर्नु र आफ्नै बलमा नेतृत्व स्थापित गर्नु एउटै कुरा होइन।

     

    यस सन्दर्भमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको प्रसंग अत्यन्त मार्मिक छ।

     

    चन्द्रशेखर केवल प्रधानमन्त्री थिएनन्; उनी भारतीय समाजवादी आन्दोलनका एक वैचारिक स्तम्भ थिए। नेपालको लोकतान्त्रिक आन्दोलनसँग पनि उनको आत्मीय सम्बन्ध थियो। उनले आफ्नो जीवनमा सत्ता मात्र निर्माण गरेनन्; विचारका संस्थाहरू निर्माण गरे। दिल्लीको ‘नरेन्द्र निकेतन’ आचार्य नरेन्द्र देवको स्मृतिमा स्थापित वैचारिक केन्द्र थियो। हरियाणाको भोंडसीस्थित ‘भारत यात्रा केन्द्र’ त भारतीय समाजवादी आन्दोलनको जीवित अभिलेख थियो।

     

    तर चन्द्रशेखरको निधनपछि उनका विचारभन्दा सम्पत्तिको राजनीति बलियो बन्यो। ट्रस्टभित्र विवाद बढ्यो। राजनीतिक निष्ठा बदलियो। व्यक्तिगत महत्वाकांक्षाले वैचारिक प्रतिबद्धतालाई विस्थापित गर्‍यो। अन्ततः नरेन्द्र निकेतन बुल्डोजरले भत्काइयो। त्यहाँ रहेका जेल डायरी, ऐतिहासिक चिठीपत्र, पाण्डुलिपि र समाजवादी आन्दोलनका दुर्लभ दस्तावेज सुरक्षित गर्ने पर्याप्त अवसरसमेत नपाएको भन्दै त्यस घटनाप्रति व्यापक दुःख र आलोचना व्यक्त गरियो।

     

    अझ ठूलो विडम्बना के रह्यो भने चन्द्रशेखरका पुत्र नीरज शेखर त्यसबेला भारतीय जनता पार्टीका नेता थिए। समाजवादी आन्दोलनबाट राजनीतिक यात्रा थालेका उनी अन्ततः त्यही शक्तिको राजनीतिक वृत्तमा पुगे, जसको शासनकालमा उनका पिताका वैचारिक संस्थाहरू संकटमा परे। इतिहासले यो संयोगलाई केवल राजनीतिक घटना मानेन; धेरैले यसलाई विचारमाथि महत्वाकांक्षाको विजयका रूपमा व्याख्या गरे।

     

    प्रश्न उठ्छ—यदि रगत नै उत्तराधिकार हो भने, आफ्नै पिताको वैचारिक सम्पदाको रक्षा गर्न नसक्ने व्यक्तिलाई इतिहासले उत्तराधिकारी मान्छ कि मान्दैन? उत्तर स्पष्ट छ—मान्दैन।

     

    राजनीतिक उत्तराधिकार कुनै नागरिकता प्रमाणपत्रजस्तो वंशानुगत अधिकार होइन। यो त जनताले दिने नैतिक जनादेश हो। यसलाई अदालतले होइन, इतिहासले प्रमाणित गर्छ।

     

    दक्षिण एशियाको राजनीतिक इतिहास हेर्दा एउटा सत्य पटक–पटक दोहोरिएको छ—वंशले चुनाव जिताउन सक्छ, तर विचारको नेतृत्व दिलाउन सक्दैन। परिवारले पद दिलाउन सक्छ, तर सम्मान दिलाउन सक्दैन। नाम उधारो पाइन्छ, चरित्र उधारो पाइँदैन।

     

    लोकतन्त्रमा सबैभन्दा खतरनाक प्रवृत्ति तानाशाही मात्र होइन; दलभित्रको वंशवादी मानसिकता पनि हो। जहाँ नेता कार्यकर्ताबाट होइन, परिवारबाट खोजिन थाल्छ; जहाँ सिद्धान्तभन्दा थर ठूलो हुन्छ; जहाँ त्यागभन्दा रगतको सम्बन्ध बलियो ठानिन्छ—त्यहाँ लोकतन्त्रको आत्मा विस्तारै मर्न थाल्छ।

     

    राजनीतिक दलहरू कुनै गुठी होइनन्। कुनै परिवारको बिर्ता होइनन्। कुनै वंशको निजी कम्पनी पनि होइनन्। ती लाखौँ कार्यकर्ताको पसिना, जेल, बलिदान र जनविश्वासबाट बनेका सार्वजनिक संस्था हुन्।

     

    त्यसैले राजनीतिमा उत्तराधिकारको अन्तिम फैसला न परिवारले गर्छ, न गुटले, न सत्ताले। त्यो फैसला इतिहासले गर्छ। इतिहासले केवल उसैलाई उत्तराधिकारी स्वीकार्छ, जसले विचारको रक्षा गर्छ; जसले संघर्षलाई निरन्तरता दिन्छ; जसले अवसरभन्दा आदर्श रोज्छ।

    र अन्ततः यही सत्य शाश्वत छ!

     

    राजनीतिमा रगतको होइन, विचारको वंश चल्छ।

     

    पदको होइन, चरित्रको उत्तराधिकार स्थापित हुन्छ।

     

    परिवारले नेता जन्माउन सक्छ; इतिहासले उत्तराधिकारी बनाउँछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij