काठमाडौं, १७ जुन । नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘पाकिस्तान राजदूत छात्रवृत्ति समारोह’ मार्फत २०० भन्दा बढी उत्कृष्ट नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। काठमाडौंस्थित एलोफ्ट होटलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा शिक्षा र सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाश्मीले प्रमुख अतिथिका रूपमा छात्रवृत्ति प्रदान गर्दै योग्यता र आवश्यकताका आधारमा छनोट गरिएका उच्च माध्यमिक तहका विद्यार्थीलाई सम्मान गरेका थिए। पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसरमा त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसकी छात्रा प्राप्ति लम्साललाई उत्कृष्ट छात्रवृत्ति प्राप्तकर्ताका रूपमा ल्यापटप प्रदान गरिएको दूतावासले जनाएको छ।
राजदूत हाश्मीले नेपालमा प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मका छात्रवृत्ति, पाकिस्तानमा उच्च शिक्षाका अवसर तथा सूचना प्रविधि, खेलकुद, उदार कला र विज्ञान–प्रविधि क्षेत्रमा शैक्षिक सहयोग जारी रहेको उल्लेख गरे। सन् २०१३ मा सुरु भएको ‘पाकिस्तान राजदूत छात्रवृत्ति कार्यक्रम’ मार्फत हालसम्म हजारौँ नेपाली विद्यार्थी लाभान्वित भएको दूतावासले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
