Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि रातिमा मुग्लिन-मलेखु सडकखण्ड बन्द नहुने


  • आइतबार, असार ८ २०८२

  • आजदेखि रातिमा  मुग्लिन-मलेखु सडकखण्ड बन्द नहुने

    काठमाडौं – मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो ।

    पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ ।

    भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो ।

    मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।

    विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ ।

    शर्मा–जेडआइसिजीले  चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हाे । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij