काठमाडौं – संघिय राजधानी काठमाडौंमा एउटा विचित्रको एउटा नगरपालिका छ, जसको नाम हो टोखा नगरपालिका । कथा टोखा नगरपालिकाको हो, जहाँ जननिर्वाचित प्रतिनिधि त छन् तर उनीहरुमा कुनै आत्मा छैन् । स्वभाविक रुपमा एउटा जनप्रतिनिधिमा हुनुपर्ने सपना, हुटहुटी वा तत्परता केहि पनि छैन् । त्यसैले लाग्छ, टोखा एउटा आत्मा मरेकाहरुले शासन गरेको नगर हो ।
पुस ४ गते टोखा नगरपालिका वडा नंं. ६ स्थित भाइकाजी श्रेष्ठको घरमा भिषण आगलागी भयो । आगलागी नियन्त्रण गर्न छिमेकी बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपलिकाको मात्र दमकल मात्र आएनन्, भक्तपुरबाट समेत दमकल आए र टोखाको आगो निभाए । टोखा नगरपालिकासंग आफ्नै दमकल समेत छैन् । टोखा नगरलाई दमकल चाहिन्छ भन्ने पनि थाहा छ, बजेटको अभाव छैन् भन्ने पनि प्रष्ट छ । तर टोखा नगर दमकल किन्दैन । नगरबासीको जनधनसंग प्रत्यक्ष सरोकार राख्ने दमकल टोखा नगरपालिकाले किन किन्दैन ? किनकी टोखाका जनप्रतिनिधिसंग कुनै आत्मा छैन् । मानौ उनीहरु रोवर्ट हुन । रोवर्टसंग हृदय हुँदैन ।

टोखा नगरमा सवाल दमकलको मात्र छैन्, सम्साझैं टोखा अध्यारो हुन्छ । विद्युतिकरणमा मुलुकले फड्को मारेको टोखा नगरका जनप्रतिनिधिलाई थाहा नभएको होइन । तर पनि टोखा अध्यारोमा नै बस्छ । कागजमा मेयर उज्यालो कार्यक्रम ल्याए पनि सडकका अधिकांश बत्तिहरु बल्दैनन् । चर्को कमिसन खाएर जोडिएको कमसल बत्तिहरु केहि महिनामा नै विग्रीए । मर्मत गर्ने कर्मचारी र बजेट नभएको पनि होइन, तर टोखाका जनप्रतिनिधि नगरबासीले राती हिडडुल गर्दा उज्यालो बाटोमा हिडुन् भन्ने महशुस गर्दैनन् । त्यसैले मर्मत गर्दैनन् ।
टोखा नगर बाटोघाटोले सम्पन्न छ । मुल सडक र सहायक सडकहरु थुप्रै छन् । सडक जति भएपनि हिड्न लायक छैनन् । खाल्डै खाल्डाले कुरुप बनेका सडक दिन दिनै जनप्रतिनिधिले नदेखेका होइनन् । कहिलेकाही बाटै बन्द भयो भने एक दुई टिप ग्राबेल हाल्ने बाहेक मर्मत गर्ने चलन छैन् । रिङरोडबाट टोखा नगर छिर्ने सबै प्रवेशद्धाराबाट बाटोको दुरअवस्थाको चित्र सुरुमा नै देख्न सकिन्छ ।
टोखा नगरमा सडक पेटी पनि छ । तर सडक पेटिको इन्जिनेरिङ हेर्ने हो भने उदेक लाग्दो छ । पेटी चढ्न डेढदेखी दुई फिटसम्म उक्लनु पर्दछ । जवकी पेटीको अन्तिम बिन्दु जमिनको सतहसंग मिलेको हुनुपर्दछ । सबै कुरामा फरक देखिएको टोखा इन्जिनेरिङमा पनि फरक त हुनै प¥यो । त्यहि भएर टोखाको सडकपेटी बृद्धबृद्धा, बालबालिका र अपांगता भएकाहरुले प्रयोग गर्ने कल्पना नै गर्न सक्दैनन् । यी मात्र होइन, विकासका सबै अवयवहरुमा यस्तै अवस्था छ ।
टोखाको पार्किङ अस्तब्यस्त छ । बालबालिका पढ्ने विद्यालयको गेटमा नै माइक्रोबस पार्किङ छ । विहानदेखी साँझसम्म गाँजाको सर्को तान्दै चालक, सहचालक माइक्रो वस हुइक्याउछन् । स्कुल पढ्न हिडेका बालबालिका जोखिममा छन् । तर टोखा नगरपालिका त्यस्तो दुरदशा हेर्नै चाहादैन । किन भने जनप्रतिनिधिले आफ्नै छोराछोरीलाई माया गर्न जानेका छैनन् । बसपार्क बनाउँन मिल्ने सार्वजनिक जग्गामा जनप्रतिनिधिले सटर बनाएर भाडा उठाएका छन् । त्यहि भएर मेयर र उपमेयर आँखामा पट्टी लगाएर हिड्छन् ।
विकास निर्माणको यो हविगत भएपछि आन्तरिक प्रशासन, सेवा प्रवाह, पारदर्शिता र आन्तरिक सुशासन गतिलो हुने कुनै भएन । मसलन्द, इन्धन, सवारी मर्मत, बैठक भत्ता, खाजापानी, सामान खरिद सबैमा खुलमखुल्ला लुटतन्त्र चलेकै छ । तर पनि निर्वाचित जनप्रतिनिधिलाई कहिकतै दुख्दैन र महशुस हुँदैन । किन भने यो टोखा नगरपालिका हो ।
मेयर प्रकाश अधिकारी टोखाको दोस्रो पटक मेयरमा निर्वाचित भए । साच्चै भन्ने हो भने नगरबासीले उनको साढे सात वर्षको नेतृत्वकालमा गतिलोसंग अनुहार पनि देख्न पाएका छैनन् । उनले पनि नगरबासीलाई म यसो गर्छु र उसो गर्छु भनेर भन्नै परेको छैन् । दुवै पटक घारघुरमा नै चुनाव जिते । चुनाव जित्नु अघि त नगरबासीलाई कुनै बचन नदिएका मेयर अधिकारीले अहिले बाचा पुरा गर्नु पर्ने बाध्यता पनि देखेका छैनन् ।

मेयर मात्र होइन उपमेयर मुरारी तामाङ पनि मस्तमा नै छन् । उनलाई त म को हुँ ? मेरो काम कर्तव्य र अधिकार के हो ? भन्ने सामान्य ज्ञान समेत छैन् । उनीबाट आशा गर्नु भनेकै मुर्खता सिवाय केहि होइन । वडा अध्यक्ष र सदस्यहरुलाई पनि आफ्नो जिम्मेवारी गतिलोसंग महशुस भएको छैन् । उनीहरु वडाको बजेट ओल्टाइ पल्टाईमा नै ब्यस्त छन् ।
मेयर अधिकारी कै कारण डुबे इश्वर पोखरेल

गएको आम निर्वाचन हुँदा टोखा नगरका मेयर प्रकाश अधिकारी दोस्रो कार्यकाल चलाउँदै थिए । टोखा नगरको आधा भन्दा बढि हिस्सा पर्ने काठमाडौं क्षेत्र नं. ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल उम्मेदवार बने । अघिल्लो पटक ११ हजार भन्दा बढि मतले जितेका पोखरेल उक्त निर्वाचनमा ५ हजार भन्दा बढि मतले हारे । कांग्रेसका प्रदीप पौडेलले टुरिष्ट उम्मेदवार भएकै भरमा एमालेका दोस्रो वरियताका नेतालाई ढाले । मुख्य गरी उक्त क्षेत्रमा पर्ने टोखा नगरको ६ वटा वडाबाट पोखरेललाई न्युन मत गयो । टोखा नगरको मेयर अधिकारीको कमजोर र दृष्टिकोण विहिन नेतृत्वको असर पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेलले भोगे । पोखरेल हार्नुको मुख्य कारण नै टोखा नगरमा भएको मेयरसहितका एमालेका जनप्रतिनिधिहरुको असक्षमता हो भन्ने प्रष्ट देखियो ।
कता छ अख्तियार ?

मेयर प्रकाश अधिकारीको पहिलो कार्यकालमा महिनै पिच्छे टोखा नगरमा छापा मारिन्थ्यो । इन्जिनियरहरु टोखा नगरमा हाजिर गर्ने भन्दा बढि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बयान दिन धाउथे । तर पछिल्लो पटक टोखा नगरमा भ्रष्टाचार र विकृतीले सिमा नाग्दा पनि अख्तियारको ध्यान पुग्न सकेको छैन् । छिमेकी नार्गजुन नगरपालिकाको भ्रष्टाचार देख्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोखामा किन नदेखेको हो भन्ने प्रश्न उठेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टोखा नगरको भ्रष्टाचारमा गहिरो छानविन गर्न आवश्यक छ, मेयरसहितका केहि जनप्रतिनिधि र कर्मचारीलाई सम्पति सुद्धिकरण अन्र्तगत अनुसन्धान गरि मुद्धा चलाउन जरुरी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
