Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ : चन्द्र ढकाल


  • सोमबार, असोज ७ २०८१

  • नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ : चन्द्र ढकाल

    काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याउनुभएको छ ।

    सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरु रहेको जानकारी गराउनु भयो । उहाँले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताउनु भयो ।

    ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरु रहेको कुरामा पनि जोड दिनुभएको छ । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको कुरा जानकारी गराउनु भयो ।

    नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरुका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उहाँले औंल्याउनुभयो ।

    ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औंल्याउनुभयो । वहाँले नेपालले हालसालै लगानी सम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको जानकारी दिनु भयो ।

    ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गर्नुभयो । भारतले आगामी दस वर्षमा नेपालबाट १०,००० मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा देखिएका नयाँ अवसरहरू पनि उहाँले उल्लेख गर्नुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij