काठमाडौं – गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब ४ करोड बिगाे माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको आरोपमा महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूमाथि १ अर्ब ४ करोड बिगो माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र पेस गरेको छ । लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा अख्तियारले सोमबार ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरेको छ ।
अघिल्लो पटक निर्वाचित भएका नगर प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी दोस्रो कार्यकालमा निर्वाचित भएपछि यो घोटालाबारे अख्तियार अनुसन्धान थालेको थियो । उनीहरू दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम मेयर, उपमेयर, प्रशासकीय अधिकृत र मुद्दा दायर भएका सबै कर्मचारी निलम्बनमा परेका छन् । योसगै नगरपालिका प्रमुख, उपप्रमुख ,लेखालगायतका केही शाखा हालका लागि रिक्त भएको छ।
५ वर्षमा उक्त नगरपालिकामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका थिए । उक्त भ्रष्टाचार मुद्दामा सबै प्रतिवादी कायम भएका छन् । उक्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रवीन कोइरालाले जिम्मेवारी विभिन्न मितिमा सम्हालेका थिए ।
ती सबै भ्रष्टाचार अभियुक्त भएका छन् र स्वतः निलम्बनमा परेका छन्। उनीहरुले आफू जिम्मेवार पदमा रहँदा राजश्व दोहन रोक्न भूमिका नखेलेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ। त्यस्तै राजस्व परामर्श समितिका सदस्य–सचिव (लेखा शाखा प्रमुख)का रूपमा यमलाल बेल्वासे, श्रीराम आचार्य र श्रीकण्ठ घिमिरेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएकोले उनीहरू पनि निलम्बनमा परेका छन् ।
अख्तियार उक्त क्षेत्रमा क्रसर सञ्चालन गर्ने क्रसर उद्योगहरूमा सप्तपथ निर्माण कम्पनी र सञ्चालक मदन केसी, निराकार ढुङ्गा रोडा उद्योग र सञ्चालक मधुसूदन डोटेल, मछिन्द्रनाथ मल्टिपर्पोज र सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग र सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग र सञ्चालक वीरेन्द्र महर्जन, माली निर्माण सेवा र सञ्चालक प्रकाश माली र कर्मा कन्सट्रक्सन तथा सञ्चालक रवि महर्जनविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
