Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


  • बुधबार, फाल्गुन २३ २०८०

  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    काठमाडौं – नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।

    सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।

    एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा, सहरि विकास मन्त्री बनेका छन् । शपथ ग्रहणपछि सबै मन्त्रीहरुले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij