काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रबाहमा सुदृढिकरण र मानवअधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पैरबी गर्दै महत्वपूर्ण उपलब्धी हासिल गर्न योगदान दिएको बताउनुभयो ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै उहाँले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री खड्काले भन्नुभयो,“पत्रकारितालाई सहि गोरेटोमा हिडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामुहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि धुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधै साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
उहाँले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले जहानिय राणा शासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणाशासन विरुद्ध जनजागरण ल्याउनुका साथै, एकदलीय पञ्चायत विरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासकासाथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“पत्रकारिता आवाजविहीनहरुको आवाज एवं समाजको ऐना भएकोले लोकतन्त्रलाई समुनत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”
उहाँले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोगसिद्ध हुनुपर्ने धारणा राख्नुभयो । “यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरु क्षेत्रको जस्तै कमि कमजोरी देखिने गरेको छ । पत्रकारले सत्यतथ्य, सन्तुलित र विश्वसनिय समाचार प्रबाह गर्ने मूल दायित्वबाट बिचलित नभई नभई न्यायको पक्षमा सतीसालजस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।
उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तकले सञ्चार क्षेत्रको विश्लेषण, घटनाक्रम, सत्यता, आवेग, अर्कै नियतबाट गरिने राजनीति, कुनैघटनाक्रमलाई राजनीतिक उद्देश्यबाट गरिने प्रवृत्तिलगायत सवाललाई उल्लेख गरेको पुस्तक समाजको तमाम विषयको एक ऐनाको रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले व्यवसायिक रुपमा देखिएको गलत अभ्यासबाट सञ्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न पुस्तक सहयोगसिद्ध हुने बताउनुभयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
