काठमाडौं– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको छ । मेयर बालेन्द्र शाहको नेतृत्वमा यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।
अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए।
बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि कड्किँदै बालेनले भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’
एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
