एजेन्सी– भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको सोमबार पथ तथा गोपनीयताको शपथ हुने भएको छ । भारत सरकारले द्रौपदीलाई देशको पन्ध्रौँ राष्ट्रपति निर्वचित भएको घोषणा गरिसकेको छ। बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मूलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको समाचारमा जनाइएको छ ।
मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गरेका थिए । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो ।
अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति भएकी छन् । पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मू सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल थिइन् । सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उनको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ ।
राजनीतिमा प्रवेश गर्नु अघि उनी विद्यालय शिक्षिका थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
