काठमाडौं – कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ। कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो।
गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएका छन्। उक्त यन्त्र पनि हाल प्रयोगमा रहेका छन्।
भगिनी सम्बन्ध भएका चीनका अन्य नगरले पनि महामारीको समयमा सघाउने इच्छा व्यक्त गरेको कामपाले जनाएको छ। जापानको मात्सुमोतो, कोरियाको सउल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन्।
सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य रु एक करोड ५० लाख रहेको छ। उक्त सामग्री वैशाख ३१ गते कामपामा आइपुगेको हो।
उक्त प्राप्त सामग्रीमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ। हाम्रो मित्रता सधैँ रहिरहनेछ’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रहिरहन्छ’ भनी लेखिएको छ।
कामपाले १८ वटा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापित गरिसकेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
