काठमाडौं – अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली खानाको परिकार चिनाउन सफल शेफ सन्तोष शाहलाई नबिल बैङ्कले ‘हिरोज् अफ नेपाल’ घोषणा गरेको छ । हालैमात्र राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैङ्कले शेफ सन्तोषलाई हिरोज् अफ नेपाल घोषणा गर्दै सम्मान गरेको हो ।
सम्मानित शेफ शाहले केहिसमय अघि मात्रै यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरूलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई समेत प्रदर्शन गरेर सफलता हासिल गरेका थिए ।
शेफ शाहकै सम्मानका लागि अयोजित कार्यक्रममा बैङ्कले शाहसँगै मिस नेपाल वर्ल्ड २०१९ की अनुष्का श्रेष्ठसँग बैङ्कका सिइओ अनिल केशरी शाह बीच प्यानल छलफलको कार्यक्रम आयोजना गरेको थियो ।
हिरोज् अफ नेपाल घोषित गरेको बैङ्कले शेफ शाहको थप नेपाली परिकारको अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित समेत गरेको छ । जसको अनुसरण गर्दै, नबिल बैङ्कले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
सो अवसरमा नबिल बैङ्कले आगामी दिनहरूमा पनि यस खालको हिरोज्हरुको सम्मान र अनुसरणको शृङ्खलालाई निरन्तरता दिने जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
