काठमाडौं – सरकारले बिहीबारबाट लागू हुने गरी आन्तरिक हवाई उडानको कोटा वृद्धि गरेको छ । नेपाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि ५ असोजबाट उडान थाल्दा १४ असोजसम्मको उडान तालीका दिएको थियो ।
प्राधिकरणका अनुसार अब बुद्ध एयरले दैनिक २५ वटा उडान गर्न पाउने छ । यसअघि दैनिक १८ वटा उडानको अनुमति बुद्ध एयरलाई दिइएको थियो । अब यति एयरलाइन्सले दैनिक १८ वटा उडान गर्न सक्ने भएको छ । यसअघि उसलाई ११ वटा उडानको अनुमति थियो ।
प्राधिकरण स्रोतका अनुसार श्री एयरले भने दैनिक १२ उडानको अनुमति पाएको छ । यसअघि श्रीको ६ उडानलाई मात्र अनुमति थियो ।
प्राधिकरणले सिम्रिक र सौर्यलाई २–२ उडानको अनुमति दिएको छ । यसअघि यी दुई एयरलाइन्सलाई एक–एक उडानको अनुमति दिइएको थियो ।
दुर्गम भेगमा काठमाडौंबाट उडान गर्ने समिट, तारा र सीता एयरले समेत अब दैनिक चार वटा उडान गर्न सक्ने भएका छन् । यसअघि यी कम्पनीले तीन–तीन उडान गर्ने सक्ने गरी प्राधिकरणबाट तालीका प्राप्त गरेका थिए । प्राधिकरणका अनुसार यो तालिका अक्टोवर महिनाभर लागू हुनेछ ।
त्यसपछि परिस्थितिको अवस्था हेरी उडान थपघटको निर्णय हुन सक्ने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
