काठमाडौँ — सर्वोच्च अदालतले वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न कुनै रोक नलगाउनू भनी फैसला गरेको छ । सर्वोच्च अदालतले ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि भन्दै मात्रा तोकेको हो । अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट–निवेदनमाथि उक्त सुनुवाइ गरेको हो ।
न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिनू भन्ने उल्लेख छ । सर्वोच्च अदालतले मदिरा ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार यस्तो आदेश दिएको हो । ‘मदिरा ऐन २०३१ को दफा ७ अनुसार निजी उपयोगका निमित्त तोकिएको मात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्था गरेको देखिन्छ,’ २०७६ माघ ५ गतेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘मदिरा निययमहरू २०३३ को नियम ७ मा उल्लेख भएअनुसार एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन दिनू । वर्षको ६ पटकसम्म मात्रै बनाउन दिनू ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
