काठमाडौं – कोभिड १९ ले पछिल्लो समय संक्रमितको संख्यामा नयाँ नयाँ कृतिमान बन्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक अमेरिका हो । हालसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।
त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा धेरै छ ।
अहिले विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
