काठमाडौं – फुडमान्डुको वेबसाइटमा साइबर ह्याक भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ ।
शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने कम्पनीले जनाएको छ ।
‘हाम्रो सानो कमजोरी पत्ता लगाएर ह्याकरले साइबर हमला गरेछ, हामीले त्यसको एक घण्टापछि मात्रै थाहा पायौं,’ उनले भने,’ग्राहकको व्यक्तिगत विवरणप्रति हामी जिम्मेवार हुँदा हुँदै घटना भयो, यसले हामीलाई दुखित बनाएको छ ।’
उनले यो आक्रमणले कम्पनीलाई धक्का लागेको पनि बताए ।
कम्पनीले एक विज्ञप्ति जारी गरेर आफ्नो कमजोरी सच्याइएको बताएको छ । चोरिएको व्यक्तिगत विवरणहरु ह्याकरले एक वेबसाइटमार्फत सार्वजनिक गरिरहेको छ ।
हमलाबारेको जानकारी प्रहरीको साइबर अपराध डिभिजनमा पनि गराएको फुडमान्डुले जनाएको छ । घटनापछि पनि फुडमान्डुले सेवा भने जारी राखेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
