काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् ।
आज नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै उनले सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता जनाए ।
अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सीमा मिचिएको कुरालाई अहिले नै हो भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको बताए । उनले वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको पनि स्पष्ट पारे ।
उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरेका छन् । ‘यो नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देशभक्त सरकार हो । त्यसकारण सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिँन दिँदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नुछैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।
उनले सरकारले संवाद मार्फत सीमा सम्बन्धी समस्या समाधान गर्ने भन्दै कतिपयले नक्सा सच्याउने कुरा उठाए पनि भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको बताए । सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्ने पनि बताए । ‘सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ’ प्रधानमन्त्रीको भनाइ थियो ।
नेपालको सीमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यबद्धता जनाएकोमा उनले खुसी व्यक्त गरे । पछिल्लो समय राजनीतिक पूर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए ।
‘दुनियाँमा एउटा आइडोलोजिक क्लास छ । आईडोलोजिक पूर्वाग्रह छ । नेपालमा अहिलेको सरकारको विरोध दुई किसिमले हुने गरेको छ । एउटा विरोध आईडोलोजिक । कम्युनिष्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ । जे गरेपनि विरोध गर्नुपर्छ । जसो गरेपनि विरोध गर्नुपर्छ । गर्न त राम्रो गरेको छ तर पनि विरोध गर्नुपर्छ । वैचारिक पुर्वाग्रहबाट गरिने विरोध एउटा विरोध छ । अर्को मैले केही पाईन । मैले केही पाएको छैन । मैले भने जस्तो पाइनँ । मैले पाउनुपर्ने मैले नपाएको हुनाले किन समर्थन गर्ने भन्ने आत्मकेन्द्रीत स्वार्थी विरोध छ । यो दुईवटै विरोध उचित छैन,’ प्रधानमन्त्रीको सुझाव छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
