काठमाडौं -संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ।
सोमबार बसेको परिषदको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको हो ।
अयोधीप्रसाद यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका छन्। आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन्।
निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन्। हाल नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीर शाह आयोगका सदस्य छन्।
परिषद्ले राष्ट्रिय समावेशी आयोगका सदस्यमा मकवानपुरकी अधिकारकर्मी विष्णुमाया ओझालाई पनि सिफारिस गरेको छ।
सो बैठकमा भने विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए। देउवाले बैठकमा उपस्थित हुन नसक्ने भनी कारणसहितको लिखित पत्र पठाएका थिए ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
