काठमाडौं– सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।
वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार,
जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार देशभर सार्वजनिक विदा दिइएको छ । असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छैन ।
त्यसैगरी असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक विदा दिइएको छ । असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।
कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ । चैत महिनामा भने सार्वजनिक विदा परेको छैन ।
साथै महिला कर्मचारीहरु भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार, अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवस, शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।
सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
