काठमाडौं– सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।
नक्सामा सात वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल्ला र त्यसको सीमाना, अन्तर्राष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ।
सबै प्रदेशको नामाकरण समेत नभएकाले नक्सामा सबै प्रदेशको नाम उल्लेख गर्न नसकिएको पनि मन्त्री अर्यालले स्पष्ट पारिन्।
मन्त्री अर्यालले सो नक्सा सबभन्दा पहिला सिंहदरबारमा हस्तान्तरण गर्ने योजना रहेको सुनाइन्।
मन्त्री अर्यालले प्रदेश स्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गर्ने घोषणा गरिन्।
सरकारले सार्वजनिक गरेको सो नक्सा नापी विभागको वेवसाइट डिओस डट जिओभी डट एनपीमा राखिएको छ।
२०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरू गरेको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
