Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने


  • आइतबार, फाल्गुन ५ २०७५

  • सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने

    काठमाडौं– सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
    आफूहरूको वृत्तिविकास रोकिने गरी सरकारले सो विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरूले दोस्रो चरणको सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

    सरकारी चिकित्सक संघ, नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
    घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरू गर्ने निर्णय गरिएको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए।
    प्रतिनिधिसभाबाट सो विधेयक आफूहरूको मागलाई सम्बोधन नगरी पारित भएको भन्दै भोलि देशभरका चिकित्सकहरूले सो विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन्।
    मंगलबार माइतीघर मण्डलामा आफूहरूको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताए।
    बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरूको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरू गर्ने सरकारी चिकित्सकहरूले सरकारलाई चेतावनी दिएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij