बिर्तामोड-गृहमन्त्री रामबहादुर थापाले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताएका छन् । आज बिर्तामोडमा नेकपा झापाले आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान् शहीदको सम्मानमा श्रद्धाञ्जलि कार्यक्रम’मा उहाँले महान् शहीदको सपना पूरा गर्न सरकार समाजवादको आधार निर्माणको दिशामा अघि बढिरहेको बताए ।
समाजवादको आफ्नै राजनीतिक, सामाजिक र आर्थिक नीति हुनेसमेत उनले बताए । उत्पादनमा समान स्वामित्व ग्रहण र राजनीतिमा श्रमजीवी वर्गको पहुँच नभएसम्म समाजवाद नआउने उनले बताए ।
शहीदको सपना पूरा गर्न वर्तमानको समीक्षा गर्दै नयाँ सङ्कल्प र एकताबद्ध अघि बढ्नुपर्नेमा गृहमन्त्री थापाले जोडसमेत दिए । ‘परिवर्तन आन्दोलन र सङ्घर्षबाट मात्र प्राप्त हुन्छ’, उनले भने, ‘परिवर्तनले मात्र शहीदको सपना पूरा हुन्छ ।’
‘समाजवादको शुरुआत गरेर सामन्यवादको गन्तव्यमा पुग्ने पार्टीको नीतिअनुसार सरकार समाजवादको आधार निर्माण लागि परेको छ’, उनले भने, ‘उत्पादन, औद्योगिक विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षालगायतमा जनताको पहुँच अभिवृद्धि हुनु समाजवाद हो, सरकार त्यही दिशामा अघि बढेको छ ।’
नेकपाको पार्टी एकताको प्रसङ्गमा कुरा गर्दै गृहमन्त्री थापाले फागुन महीनाभित्र पार्टी एकता हुने बताए । ‘पार्टी एकताको बाँकी काम फागुन दोस्रो सातासम्मा पूरा हुन्छ’, उनले भने, ‘पार्टी एकताको विकल्प छैन, फागुनभित्र पार्टी एकता हुन्छ, म प्रतिबद्धता गर्छु ।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
