Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई अवकाश दिइने


  • सोमबार, मंसिर २४ २०७५

  • अब  खटाएको ठाउँमा २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई अवकाश दिइने

    काठमाडौं– अब कुनै पनि ठाउँमा खटाएको २१ दिनभित्र हाजिर नहुने कर्मचारीले अवकाश पाउने भएका छन् ।
    हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने बाटो खूल्ला भएको हो ।
    तर उक्त अध्यादेश ६० दिनभित्र संसदबाट प्रतिस्थापन नभए स्वतः खारेज हुन्छ। संगठन संरचना र दरबन्दी स्वीकृत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गर्ने अध्यादेशमा उल्लेख छ।
    साथै कर्मचारीलाई सकेसम्म घरपायक खटाउने सरकारको तयारी छ। समायोजन भएर जाने कर्मचारीलाई पहिले खाइपाइ आएको सुविधामा दुई ग्रेडसम्म वृद्धि गर्ने तथा उपल्लो तहको सेवा सुविधा दिने अध्यादेशमा उल्लेख छ।
    सरकारले श्रेणीविहीन कर्मचारीलाई दुई ग्रेड वृद्धि गर्ने तयारी गरेको छ। त्यसैगरी व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐनबाट गठन भएका कर्मचारीलाई प्रदेशमा मात्रै समायोजन गरिने भएको छ।
    कर्मचारी समायोजनका आधार कार्यरत पद र उमेरको जेष्ठतालाई लिइएको छ। प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारी संघमा आउन पाउने छैनन्। तर, अन्तर सेवा प्रतिस्पर्धामा उत्तिर्ण भएमा भने आउन पाउनेछन्। संभव भएसम्म पति वा पत्नीलाई एकै ठाउँमा खटाउने सरकारको तयारी छ।
    खटाइएका कर्मचारीहरू बाटोको म्यादबाहेक २१ दिनभित्र हाजिर भइसक्नु पर्ने अध्यादेशमा उल्लेख छ।
    प्रसुति तथा किरियाजस्ता बिदामा बसेका कर्मचारीले बिदा सकिएको ३५ दिनभित्र काममा हाजिर हुनुपर्नेछ। खटिएका ठाउँमा हाजिर नहुने कर्मचारीलाई विभागीय सजायको आदेश दिन पाउने कर्मचारीले अवकाश दिन सक्ने अधिकार अध्यादेशमा छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij