सुनसरी– सुनसरी जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन। चार–पाँच जनाको समूहमा रहेको शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरूले प्रहरीलाई लक्षित गरी एक्कासी गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा सो समूहका एक व्यक्तिको मृत्यु भएको हो।
अन्य व्यक्ति भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। घटनास्थलमा तत्काल खोजतलास गर्दा गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
