Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र म्यान्माबीच व्यापार सम्झौता


  • शुक्रबार, मंसिर १४ २०७५

  • नेपाल र म्यान्माबीच व्यापार सम्झौता

    नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका छन्।

    दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ। दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ। ‘एशिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौं आएकी हुन्।

    वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिए। हाल नेपालमा म्यान्माबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ।

    उनले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको बताए।

    भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताए। म्यान्माले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ।

    प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो।

    सन् २०१४ मा बिम्स्टेकको तेस्रो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले म्यान्माको औपचारिक भ्रमण गरेका थिए भने त्यहाँका प्रधानमन्त्री उ सेन विङले नेपालका राजा वीरेन्द्रको राज्यारोहणका समयमा सन् १९७५ (विसं २०३१)मा नेपालको भ्रमण गरेका थिए।

    सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रले म्यान्माको औपचारिक भ्रमण गरेका थिए। दुई मुलुकबीच सन् १९६० मार्च १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। म्यान्माले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्यता पाउन सन् २००८ मा प्रस्ताव गरेको थियो।

    वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, डा भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, म्यान्माका लागि नेपाली राजदूत भीम उदास तथा म्यान्माका मन्त्री टिनलगायतको उपस्थिति थियो। पहिले बर्मा भनिने म्यान्मामा नेपाली मूलका करीब दुई लाख मानिसको बसोबास छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij