काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राष्ट्रसंघका अन्डर सेक्रेटरी जनरल एण्ड द यूएन हाइ रिप्रिजेन्टेटिभ फर डिसआरमेन्ट अफेयर्स इजुमी नाकामित्सुले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभेको छ ।
शिष्टाचार भेटमा उपप्रधानमन्त्री खड्काले नाकामित्सुलाई स्वागत गर्नुहुँदै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
सो अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूले नेपाल र संयुक्त राष्ट्रसंघबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेदेखि नै संयुक्त राष्ट्रसंघको कार्यक्रमहरूमा सहभागी हुँदै आएको र संयुक्त राष्ट्रसंघको बडापत्र एवं जिम्मेवारी प्रति प्रतिवद्ध रहेको कुरा उल्लेख गर्नुभयो ।
विश्व शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघको उद्देश्य प्राप्तिमा नेपाल सक्रियतापूर्वक लागि रहेको र यसै सन्दर्भमा विश्वका १२ राष्ट्रका १३ वटा मिशनमा छ हजारभन्दा बढी शान्ति सैनिक परिचालन गरी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा उल्लेख गर्नुभयो।
साथै, नेपालले लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारमा शून्य सहनशीलताको नीति लिएको कुरा समेत व्यक्त गर्नुभयो । शान्ति सैनिकको क्षमता एवं अनुशासनमा विशेष जोड दिँदै उच्च स्तरको कार्य सम्पादनको लागि नेपालले तालिम तथा क्षमता अभिवृद्धिमा विशेष जोड दिएको कुरा उल्लेख गर्नुभयो ।
उक्त अवसरमा उहाँले नेपाल सँधै निशस्त्रीकरणको पक्षमा रहेको र त्यसका लागि संयुक्त राष्ट्र संघले अघि बढाएका अधिकांश उपकरणप्रति नेपाल प्रतिवद्ध रहेको र केही उपकरणहरूको सन्दर्भमा नेपाल पक्ष राष्ट्र भइसकेको बताउनुभयो। साथै उहाँले यससँग सम्बन्धित राष्ट्रिय कानूनहरूको निर्माणमा समेत नेपाल अघि बढिरहेको उल्लेख गर्नुभयो।
साथै वहाँले शान्ति तथा निशस्त्रीकरण सम्बन्धी काठमाण्डौंमा रहेको क्षेत्रीय केन्द्रलाई क्रियाशील बनाउन र काठमाण्डौं प्रोसेस मार्फत क्षेत्रीय शान्ति प्रवर्द्धनमा अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
सो अवसरमा संयुक्त राष्ट्रसंघका नाकामित्सुले नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि उपयुक्त स्थान भएको कुरामा जोड दिनुहुँदै संयुक्त राष्ट्रसंघले विश्व शान्ति एवं निशस्त्रीकरणमा नेपालसँग मिलेर थप कार्य गर्न चाहेको कुरा उल्लेख गर्नुभयो।
साथै वहाँले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमार्फत विश्व शान्ति स्थापनामा खेलेको भूमिका एवं नेपाली सेनाको उत्कृष्ट कार्य सम्पादनको प्रशंसा गर्नुभयो। त्यसैगरी वहाँले संयुक्त राष्ट्रसंघले अघि बढाएका विश्व शान्ति एवं निशस्त्रीकरणसम्बन्धी प्रयत्नहरूमा नेपाल थप क्रियाशील रहने आशा व्यक्त गर्नुभयो।
शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सहसचिव श्री बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकृत साथै, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
