Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विकासको एजेण्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का


  • शनिबार, पुष २१ २०८०

  • विकासको एजेण्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का

    सुर्खेत (छिन्चु), २पुस : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

    शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

    नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उहाँले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गर्नुभयो । राजनीतिक आस्था फरकफरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने उहाँको भनाइ थियो ।

    प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत सो अवसरमा जानकारी दिनुभयो । “जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्”, उहाँले भन्नुभयो, “यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।”

    दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उहाँको सुझाव थियो । उहाँले रङ्गशाला निर्माणका लागि धन्यवाद दिनुहुँदै खेलकूदसम्बनधी संरचना निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

    ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता भएका छन् । प्रतियोगिताका लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापकमा कर्णाली प्रदेश भलिबल सङ्घ रहेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

    यस प्रतियोगितामार्फत राष्ट्रिय टिम छनोट हुनेछ । खेलाडी व्यवस्थापन सङ्घले गर्नेछ । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij