Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सम्झनामा लिलाबहादुर थापा


  • शनिबार, माघ १५ २०७८

  • सम्झनामा लिलाबहादुर थापा

    काठमाडौं निर्वाचन क्षेत्र नं.५का सचिव रजनी थापाले मलाई माघ ४ गते राति १०ः१८ बजे फोन गरेर लीलाबहादुर थाप (उहाँको हजुरबुवा)लाई गंगालाल हृदयरोग अस्पतालमा लगिएको छ भन्नुभयो । लगत्तै म तयार भएर रजनी थापाको घरमा पुगे । उहाँलाई लिएर राति १०ः३४मा हामी गंगालाल अस्पताल पुग्यौं ।

    बेलुकाको खाना लीलाबहादुर थापाजीलाई छोरा महेश थापाले खुवाएर आफुले खाए पछि छातिमा असजिलो भयो भन्नु भएछ । त्यसपछि उहाँलाई तत्काल गंगालाल हृदयरोग अस्पताल लगिएको रहेछ । अस्पतालमा हट्अट्याक भएको पुष्टि भएछ । उपचार गर्दागर्दै केही समय पछि डाक्टरले उहाँलाई मृत घोषणा गरेछन् । हामी पुग्दा उहाँको स्वर्गारोहण भइसकेको रहेछ । महेश थापा लगायत अस्पतालको बारिह रहनु भएका उहाँहरुका बन्धु बान्धवहरुलाई भेटेर म लीलाबहादुर थापाजीलाई भेट्न अस्पतालको ईमरजेन्सी कक्ष भित्र पसे ।

    मैले लीलाबहादुर जीलाई भेट्दा उहाँ मुस्कुराएर निदाएको जस्तो मात्र देखे । एकछिन हेरिरहे, उहाँ आखा चिम्लिएर मुुसुक्क मुस्कुराई रहेर “रामचन्द्रजी भरखर आइपुग्नु भयो !” भन्नु भयो जस्तो लाग्यो । त्यसको लगत्तै उहाँले मसँग “म महाप्रस्थान तर्फ लागे !” भनेर विदा माग्नु भएको अनुभुति गरे । केहीबेर उहाँलाई हेरिरहेर । अनि म बाहिर आए ।

    बाहिर लीलाबहादुर जीका छोरा राजेश थापा आफ्नो बाबालाई संझदै केही भनिरहनु भएको थियो । म अल्लि नजिकै गए । राजेशले अब मलाई कसले गाली गर्छ भन्दै विस्मात मानिरहेको देखे । उहाँ पनि आफ्नो बाबालाई हेर्न फेरि ईमरजेन्सी भित्र जानु भयो । कान्छो छोरा जितेन्द्र थापा अमेरिकामा भएको हुदा उहाँसँग महेश थापाले तत्काल कुरा गर्नु भयो । जीतेन्द्रले आफु आउने भने पछि पार्थीव शरिर राख्ने व्यवस्था गंगालाल अस्पतालमा नै गरियो ।

    इमरजेन्सीबाट लीलाबहादुर थापाजीलाइ अस्पतालका कर्मचारीर्ले निकालेपछि महेश थापा रुदै उहाँको पछिपछि लाग्नु भयो । महेश थापाको पछिपछि म पनि लागि रहे । मनमा नरमाइलो भइरहेको थियो । मेरा पछि उहाँका बन्धु, बान्धवहरु आइरहनु भएको थियो । समय अतिनै पीडा दायक थियो । तरपनि यो यथार्थतालाई बेहोर्नै पर्ने थियो । यसपछि लीलाबहादुर थापाजीको पार्थीव शरिर सुरक्षित राखेर २ दिन पछि अन्त्येष्टि गर्ने व्यवस्था गरेर हामी सबै आआफ्नो घर लाग्यौं ।

    माघ ६ गते हामी सबै ११ बजे आर्यघाटमा लीलाबहादुर जीको अन्तयेष्टि कर्मकोलागि पुग्यौं । लीलाबहादुरजी पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नियुक्त गर्नु भएको थियो । स्वार्गारोहणको खबर पाएपछि पार्टी अफिसले शोक वक्तव्य निकाल्यो । लीलाबहादुरजीको पार्थीव शरिरमा झण्डा ओडाउन उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ्ग आउनु भयो । यसका साथै कांग्रेसका नेता एवं माननीय भीमसेनदास प्रधान, क्षेत्रीय सचिव रजनी थापा र म लगायतले झण्डा ओडायौं । पार्टी पङ्गती र जनसमुदायले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनु भयो । अस्वस्थताका कारण शशरीर उपस्थित हुन नसकेपनि नेता नरहरि आचार्य, महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । आर्यघाट कारुणीक अवस्थामा थियो । सबै साथीहरुका अनुहार मलिन थिए ।

    लीलाबहादुर जीलाई मैले मेरो जीवनमा सधै संझन पर्ने व्यक्तिका रुपमा रहनु भएको छ । हामी एउटै आदर्श, सिद्धान्त र दर्शनबाट प्रभावित भएर नेपाली कांग्रेस पार्टीमा आबद्ध भएका सदस्यहरु थियौं । उहाँसँगको मेरो परिचय, राजनीतिक व्यक्तिलाई सामाजिक कामका लागि नजिकको प्रहरी चौकीमा नियमित जनताको काम परिरहने हुँदा चाहिन्छि । उहाँ म समक्ष महाराजगञ्ज चक्रपथ प्रहरी चौकीका इन्सपेक्टरलाई आफ्नो परिचय गरिदिन भन्न आउनु भयो । मैले प्रहरी इन्सपेक्टरलाई फोन गरेर भने, “लीलाबहादुर थापा हाम्रो पार्टी धापासी गाविसको सभापति हुनुहुन्छ, उहाँले भन्नु भएको सामाजिक कामलाई गम्भीरता पूर्वक लिएर सहयोग गरिदिनु होला । उहाँले भनेका सबै कुरा मैले भनेको भनि भोलिका दिनमा पनि बुझिदिनु होला भने ।” लीलाबहादुरजीले गएर भेट्नु भएछ । उहाँलाई प्रहरी कार्यालयबाट भएको व्यवहारले प्रभावित भएर मलाई भेट्न आउनु भयो ।

    केही समय पछि मैले साथी सुशील वाग्लेको सहयोगमा कृष्णबहादुर थापाको नाममा रहेको ५ आना चानचुन जग्गाको एउटा कित्ता धापासीमा किने । कृष्णबहादुर पनि धापासी ३ नं वडाको कांग्रेसका तर्फबाट जनप्रतिनिधि हुनुहुदो रहेछ । उहाँ असल र सिधा मानिस हुनुहुन्थ्यो । उहाँले साथी भाइ बोलाएर नियमित घरमा खुवाएको पनि मैले देखे । हाम्रो परिवारलाई निक्कै माया गर्नु हुन्थ्यो । कृष्ण दाइसँग लिएको जमिनमा घर बनाएर हामी धापासीमा नै स्थायी बसोबास गर्न आइपुग्यौं । घरका सधियारा कृष्ण दाइ र भरत खत्री बुवा हुनु भयो । उहाँहरुको परिवारसँग अहिले पनि हाम्रो सामिप्यताको मित्रता छ । धापासीकै बसाई पछि लीलाबहादुर जीसँग नियमित जस्तो बैठक बस्ने पार्टी संगठनको विषयमा छलफल गर्ने गर्न थाले ।

    लीलाबहादुर थापा नेपाल आर्मीबाट निवृत्त भएपछि कांग्रेस पार्टीमा सक्रिय हुनुभएको थियो । म आदरणीय नेता नरहरि आचार्यको सामिप्यमा रहेर सक्रिय थिए । कांग्रेस र मुलुकको केन्द्रीय सत्तासँगको नियमित बैठकहरुमा म हुन्थे । त्यहा भएको छलफल सुनेर म लीलाबहादुर जीलाई भेटथे । मैले राष्ट्रिय राजनीतिमा चलेको विषयको केही उच्चारण गर्नासाथ उहाँबाट व्यक्त हुने विचार केन्द्रीय तहका नीतिनिर्माताहरुकै स्तरको हुन्थ्यो । म लीलाबहादुर जीलाई हेर्दै आश्चर्यमा पर्थे । उहाँ नेपाल, नेपाली जनता, कांग्रेस पार्टीलाई नजिकबाट चिनेको व्यक्ति हुनुहुन्थ्यो ।

    लीलाबहादुर थापा सभापति हुँदा नै २०६२–६३को बृहत जनआन्दोलन भएको थियो । उहाँ आफै सक्रिय भएर उपस्थित हुने र निर्देशन दिने गर्नु हुन्थ्यो । त्यसबखतको बसुन्धरा मोर्चा धापासी ईकाईकै जिम्मा थियो । माओवादी हत्याको आतङ्ग धापासीसम्म आइपुगेको थियो । सत्ताको नाङ्गो नाच राजा ज्ञानेन्द्रले देखाइ रहनु भएको थियो । हाम्रो नेता नरहरि आचार्य जेलमा हुनुहुन्थ्यो । त्यसबखतमा धापासीका साथीहरु जम्मा गरेर गणतन्त्रको माग गरिरहनु भएका नेता नरहरि आचार्यलाई जेलमा पुगेर एकबद्धता जनाउने, भेट्न जाने नेतृत्व लीलाबहादुरले गर्नु भएको थियो । लीलाबहादुर थापालाई नरहरि आचार्याले जेलबाट संगठनको जिम्मा लिइरहन र सक्रिय हुन पत्र पठाउनु भएको थियो । कांग्रेस सभापतिका रुपमा माओवादी र राजावादी दुबैले लीलाबहादुर जीलाई कमजोर बनाउन प्रयासरत रहन्थे ।

    त्यसबखत लीलाबहादुर जीको सभापतित्वमा भएका अधिकांश औपचारिक, अनौपचारिक बैठकमा नियमति अमृतमान श्रेष्ठ र सुदेवजंग पण्डित हुनुहुन्थ्यो । त्यस्तै ज्ञानु थापा, भाइनारायण श्रेष्ठ, नानीकृष्ण केसी पनि हुनुहुन्थ्यो । त्यसपछिका बुद्धिजिविका रुपमा सुशील वाग्ले, सागर खनाल, रमेश विष्टहरु हुनुहुन्थ्यो । म पनि समय मिलेसम्म उहाँहरुको बैठकमा उपस्थित हुन कोशिस गर्थे । लीलाबहादुरजी सभापति हुँदा धापासी गाविसमा निश्चित मात्रामा मात्र क्रियाशील सदस्य हुनुहुन्थ्यो । कांग्रेसका तर्फबाट स्थानीय तहमा पार्टीको उम्मेदवार हुनुभएका कतिपय व्यक्तिहरु पनि क्रियाशील सदस्य हुनुहुन्थेन । त्यो रुपको कांग्रेस संगठनलाई लीलाबहादुर जीले खुलारुपमा क्रियाशील सदस्य वितरण गरेर पार्टीलाई एउटा फराकिलो आकार दिनु भएको थियो ।

    धापासीको यस क्षेत्रमा रहेका थापा परिवारलाई लीलाबहादुरजीले संगगिठत, एकता र भातृत्वको बन्धनले बाधेको पनि देखे । लीलाबहादुरजीसँग सबै कुराका उत्तर हुन्थे । उहाँको भाइ कान्छा थापा र उहाँ लामो समयसम्म दुई जना मात्र बसेर पनि कुराकानी गर्न सक्नु हुन्थ्यो । दाजु प्रतिको सर्मपण भाव कान्छा थापामा पनि म प्रचुर मात्रामा देख्थे । कति समय त म उहाँहरु दुई जनाको कुरा मुडामा बसेर सुनिरहेको पनि हुन्थे । परिस्थितिसँग सामना गर्न सक्ने सामथ्र्य सायद लीलाबहादुर जीलाई बन्धुहरुको एकताले पनि दिएको थियो होला ।

    लीलाबहादुर जी सामाजिक काममा आफै खर्च गरेर अग्रसर हुने उहाँको बानी थियो । यसै बिचमा धापासी निमाविको अध्यक्ष हुनु भयो । त्यसपछि पहिला आफैले रकम राखेर अधिकांशलाई सहभागी गराउदै भिरालो जमिनमा ४ तले भवन ठडाउनु भयो । सधीयाराले मिचेको जग्गा नापी गरेर स्कुलको हकमा ल्याउनु भयो । आफु जिविसमा हुँदा खाने पानीको पाइप धापासीमा व्यापक रुपमा बिछ्याउनु भएको रहेछ । दुखमा परेका मानिसहरुलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने उहाँको बानि थियो ।

    मेरो सानो छोरा शाश्वतलाई हाम्रो घर अगाडि माइक्रोले ठक्कर दिएर गम्भीर घाइते बनायो । हामीले ओम अस्पतालमा उनको उपचार गराएका थियौं । लीलाबहादुर जी नियमित अस्पताल आउने र के कस्तो छ भनेर बुझ्ने गर्नु हुन्थ्यो । उपचारका लागि हामीले सिङ्गल क्याविन लिएका थियौं, त्यहा भूइमा ओछ्याउनका लागि ठूलो गलैजा पठाइदिनु भयो । त्यसले हाम्रो परिवारलाई धेरै ठूलो सहयोग भएको थियो । उहाँ हुनुभएकोले धापासीको रुटमा चल्ने माइक्रो भाग्लाकी भनेर हामीले कुनै चिन्तै गर्न पर्दैनथ्यो । लामो अस्पतालको बसाई पछि हामी घर आयौं । मेरो छोराको उहाँ बुढो साथी हुनुहुन्थ्यो । उनको प्रगतिमा उहाँ सधै खुसी हुनुहुन्थ्यो ।

    त्यस्तै मेरो दोस्रो घर बनाउदा बनाउदै २ तला बनाएपछि एउटा पिल्लरको हात्तिपाइले देखिने गरी पहिरो गयो । घरको जग मुनिबाट मूल झै नियमित पानी बगिरह्यो । घर रहला जस्तो थिएन । उहाँले यहाँ नबसौं भनेर हामीलाई बस्न अर्को घरको बन्दोबस्त गरिदिनु भयो । तर हामी हाम्रै घरमा बस्यौं । लीलाबहादुर जी नियमित हाम्रो अवस्था हेर्न आउनु हुन्थ्यो ।

    लीलाबहादुर जी मेरो स्थानीय राजनीतिको अभिभावक पनि हुनुहुन्थ्यो । स्थानीय तहको राजनीतिमा म माथि आइपर्ने चुनौतीमा जहिले पनि ढाल बनेर रहनु हुन्थ्यो । राजनीतिक यात्रामा लीलाबहादुर जी आफ्नै साथीहरुबाट अपमानित हुनपरेको पनि मैले देखेको थिए । तर त्यसलाई सहज रुपमा लिन सक्ने क्षमता उहाँमा थियो । उहाँले आफुले गरेको कुरा प्रचार गर्न चाहनु हुन्थेन । अरुले संझने विषय हो त्यो भन्नु हुन्थ्यो ।

    साधारण एउटा गाउले परिवेशमा जन्मिएर हुर्केको विशाल बृक्ष लीलाबहादुर थापा हामी बिचबाट अस्ताउनु भएको छ । तरपनि उहाँले गरेका कर्म र हामी जस्ता व्यक्तिलाई लगाएको गुन यही भूमिमा छ । त्यसैले उहाँको स्थुल शरिर हामी बिच नभए पनि उहाँ हामी बिच अमर हुनुहुन्छ । जय नेपाल !

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij