रामचन्द्र घिमिरे

महेश्वर शर्माको रन्थमोल दुई (माघ १२) जन्म दिवसको शुभकामनाका साथ आयो । ९१ वर्ष पुग्नु भएका महेश्वर शर्मालाई सुस्वास्थ्य र दीघार्युको शुभकामना दिन्छु ।
महेश्वर शर्माको मैले केही वर्ष अघि लामो अन्तवार्ता लिएको थिए । मेरो दृष्टिमा शर्मा राजनीतिज्ञ हुनुहुन्छ । उहाँ नेपालको स्वतन्त्रताको आन्दोलनमा सक्रिय भएर लाग्नु भएको व्यक्ति हो । लोकतान्त्रिक आन्दोलनको माध्यम नेपाली कांग्रेस भएको हुँदा २०१५ सालमा पार्टीबाट टिकटको आकांक्षाी हुनुहुन्छ । नेपाली कांग्रेसले आफुलाई अन्याय गरेपछि उहाँले विद्रोह गर्नुभयो ।
२०१७ सालको राजनीतिक घटना पछि महेश्वर शर्माले आफुलाई राष्ट्रसेवकका रुपमा अघि बढाउनु भयो । सिडियो र सहअञ्चलाधीशको भूमिका निभाउदै आउदा २०४६ सालको जनआन्दोलनसँग जम्का भेट भयो । आन्दोलनले ल एण्ड अर्डर भत्किएको ठाउँमा उहाँलाई पठाउन गृह मन्त्रालयले सबै भन्दा पहिला खोज्थ्यो । यस हिसावले शर्मा नागरिकको समिपमा बसेर प्रशासन प्रयोग गर्न समर्थ हुनुहुन्थ्यो भन्ने देखाउछ ।
२०४८ सालको जननिर्वाचित सरकारले प्रशासनमा सुधार ल्याउने हेतुले २०४९ सालमा केही (५२५९) राष्ट्रसेवकहरुलाई विदा दिने निर्णय ग¥यो । सोही अनुशार महेश्वर शर्मा गृह मन्त्रालयको सहसचिवबाट रिटायर्ड हुनु भयो । त्यसबखत यसरी विदा दिइएका अधिकांश व्यक्तिहरु अदालत गएर पुनःस्थापित भए । तर महेश्वर शर्मा अदालत जान चाहनु भएन । त्यसपछि उहाँ साहित्यको साधना गर्न तर्फ तल्लिन हुनु भयो । महेश्वर शर्मा एमबिबिएस डाक्टर पनि हुनुहुन्छ । सरलता र शिष्टता उहाँको परिचय हो ।
महेश्वर शर्माको रन्थमोल दुई ३०औं कृति हो । यसमा उहाँ लेख्नु हुन्छ – “२०४९ कार्तिक २२ गते विदा हुन मन्त्रालय पुगेको थिए । तत्कालिन गृहमन्त्री शेरबहादुर देउवाले अब के गर्नु हुन्छ ? भनेर सोध्द्धा अचानक मेरो मुखबाट अब केही लेख्छु भन्न आयो । त्यसो भए प्रशासनकै बारेमा लेख्नुहोस् । भनेर देउवाले लेखापाललाई बोलाउनु भयो । मैले कल्पना नै नगरेको लो ः अहिले मेरो सहयोग यति नै भयो है भन्दै मलाई १५ हजार दिनु भयो । लिन्न भन्न पनि अप्ठ्यारो भयो । त्यो रकममा थपथाप गरेर रन्थमोल छपाए । कर्मचारी साथीहरुकै सहयोगमा रन्थमोल हातहातै बिक्यो र झण्डै एक लाख आएको पनि थियो । यसको श्रेय प्रधानमन्त्री देउवा र कर्मचारी साथीहरुलाई छ ।”
रन्थमोल दुई अध्ययन गरिसकेपछि, लोकतन्त्र प्राप्तिपछि हाम्रो कमी कमजोरी कहाँ कहाँ भए भन्ने यस पुस्तकले स्पष्ट पार्छ । २०४६ सालको जनआन्दोलनबाट भएको परिवर्तन किन छोटो समयमा समाप्त भयो ? ६२–६३को आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्था माथि किन यतिधेरै आलोचना भइरहेको छ ? हामीले यो स्पष्ट बुझ्न जरुरी छ । यस कितावबाट थाहा हुन्छ नेपालमा अराजकता र भ्रष्टाचार निम्त्याउन कम्युनिष्टहरु सधै बलिया रहे । कम्युनिष्टहरु भ्रष्टाचार, कमिशन खोरमा विराट देखिएका छन् । यसै कितावमा कांग्रेस आफुले हिड्न पर्ने बाटो हिड्न नसकेर भ्रष्टाचार र कमिशनको खेलमा परेर आफैलाई कमजोर बनाएको पाइन्छ ।
नेपाली कांग्रेसको अर्थ नीति अनुरुप देश आर्थिक रुपमा सबल बन्दै आएको छ । तर हामी सँग भएका कल–कारखाना जोगाउन भने सकेका छैनौं । इतिहासको कठघरामा लाउडा काण्ड, धमिजा काण्ड छन् । पछिल्लो ओली काण्डका रुपमा कोरोना भाइरसको उपचार खरीद काण्ड र सांसद अपहरण काण्ड पनि यस पुस्तक भित्र छन् । देश लुट्ने थलो बनेको त्रासदी पूर्ण चित्र रन्थमोल दुई पुस्तकले देखाउछ ।
रन्थमोल दुईमा कालापानीको प्रसङ्ग पनि छ । लिपुलेक भञ्ज्याङ्ग, कालापानी भन्दा पनि १७ कि.मि. पश्चिम लिम्पियाधुरासम्म नेपालको भूभाग पर्छ । लिपुलेक कालापानी क्षेत्र अन्तर्गत ६२ वर्ग कि.मि. र लिम्पियाधुरासम्म ३१० वर्ग कि.मि.गरी नेपालको ३७२ वर्ग कि.मि. भूभागमा अतिक्रमण गरी भारतीय सेना बसेको छ । १९६२ मा भारत चीन युद्ध हुदा भारतले नेपालको भूभागमा सेना लगेर राखेको हो । लिपुलेक भञ्ज्याङ्ग घाँटी परेकाले सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । ताक्लाकोटबाट कोही आयो भने त्यो भञ्ज्याङ्गबाट छर्लङ्ग देखिन्छ । यही क्षेत्र भएर मानसरोवर जाने बाटो छ । सामरिक, व्यापारिक र पर्यटकीय दृष्टिकोणले पनि यो महत्वपूर्ण छ । ब्रिटिस सर्भे अफ इण्डियाले सन् १८२७, १८५० र १८५६ मा प्रकाशित गरेको दक्षिण एशियाको नक्सामा कालीनदीको उद्गम लिम्पियाधुरा छ । सन् १९०३ को स्याङ डाइनेष्टीक समयको नक्सामा नेपालको सीमाना लिम्पिया धुराको चोसोसम्म पुगेको देखाएको छ ।
रन्थमोल दुईमा “लुट्न सके लुट् कान्छा ! लुट्न सके लुट् ! अन्त कतै पाईदैन, नेपालमै हो छुट” बोलको गीत पनि अटेको छ । यो गीत गायक पशुपति शर्माले सार्वजनिक गरेपछि केपी ओली सरकारको सातो गयो । प्रधानमन्त्रीकै निर्देशनमा यो गीतलाई प्रतिबन्ध लगाइयो । जनजनको मनमनमा बसेको हुनाले यो गीत सरकारले प्रतिबन्ध लगाए पनि अहिले पनि बजि रहेको छ । साहित्य, संगित तत्काल सुन्दा नकरात्मक जस्तो लागे पनि यसले दिने सन्देश नकारात्मक भन्दा सकारात्मक नै हुन्छ । लुट्न सके लुट् गीत जनताले रुचाउनु यो राज्यका प्रति र राजनीतिक व्यक्तिहरुका प्रति जनताको प्रतिरोध पनि हो ।
महेश्वर शर्माको दृष्टिमा नेपालका कम्युनिष्टहरुले पञ्चायतको विरोध गर्नु आवश्यक थिएन । कम्युनिजममा राजनीतिक दल हुदैनन् । एकदलीय तानाशाही हुन्छन् । राजनीतिक स्वतन्त्रता हुदैन । त्यो पनि पञ्चायत जस्तै निदर्ललीय व्यवस्था हो । कम्युनिष्टहरुको बिरोध राजाको ठाउमा आफ्नो प्रभुत्व कायम गराउनकालागि मात्र हुनसक्छ । पञ्चायतका कार्यक्रम कुनै पनि कम्युनिष्ट मुलुकका भन्दा कम थिएनन् । अब त कम्युनिष्ट पनि नाम मात्रका छन् । नेपाली कांग्रेसले पञ्चायतको विरोध गर्नु जायज थियो । किनभने उसले दलीय व्यवस्था चाहन्थ्यो । पञ्चायतमा दल प्रतिबन्धित हुनाले कांग्रेस त्यसको फुकुवा चाहन्थ्यो ।
अब कम्युनिजमको आगो संसारमा प्रायः निभिसकेको छ । नेपालमा भने धिपधिप गर्दैछ, त्यो पनि यान्त्रिक रुपमा । नेपालका दलहरुमा यतिबेला न वास्तविक कम्युनिजमको सार छ । त्यसैगरी न त प्रजातान्त्रिक तत्व, सिद्धान्त र व्यवहार नै छ । यि सबैमा विचलन आएको छ ।
संविधानसभाले संविधान बनाएपछि विधिको शासन चल्ने सबै जनताको प्रतिक्षा थियो । जनताले मत द्वारा नेकपालाई सत्ता सुम्पिए । दुई तिहाई नजिकको कम्युनिष्ट पार्टीको नेतृत्व गर्दै केपी ओली प्रधानमन्त्री बने । संसदबाट कानुन बनाएर शासन चलाउनुको सट्टा संसद छलेर अनियन्त्रित अध्यादेश जारी गरेर ओलीले शासन गर्न थाले । यस काममा राष्ट्रपति पनि सहायक बनेको देखियो । २०७७ पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गरे । अदालतले संसद विघटन असंवैधानिक भनिदियो । प्रधानमन्त्रीले राजिनामा दिनुको बदलामा राष्ट्रपतिलाई दुरुपयोग गर्दै संसदीय सुनुवाई बेगर राजदुत लगायतलाई सपथग्रहण गराउन लगाइयो । हत्याका अपराधिलाई राष्ट्रपतिबाट आममाफी गराइयो । जन अपेक्षा र संविधान अनुसार काम नगरेर ओलीले संविधान, कानुन मिच्दै हिड्ने सर्वोच्च अदालतले सच्याउदै जाने क्रम चल्यो । यो क्रम २०७८ साउन ३ गते पुनस्थापित संसदबाट शेरबहादुर देउवाले विश्वासको मत पाएपछि रोकियो । प्रधानमन्त्रीका रुपमा केपी ओली सरकारले गरेका यस्ता अवैधानिक सबै नियुक्ति नयाँ सरकारले खारेज गरेर सच्याइयो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकारबाट भएका भ्रष्टाचार नग्न र छरपष्ट रुपमा बाहिर आयो । गोकर्ण रिसोर्टको सैतिस सय रोपनी जग्गा यतिले वार्षिक १५ हजार नेपाल ट्रष्टलाई दिने संझौता गरि दिइयो । यतिले भाडामा लगाएर ५ लाख १३ हजार कमाइ रहेको छ । त्यसैगरी दरवार मार्गको ट्रष्टको जग्गा थाम सेर्कुलाई ३० वर्षको लागि १ करोड १० लाख ८० हजारमा .लिजमा दिने निर्णय मन्त्रिपरिषद्बाट गराइयो । उजुरी नलागोस भनेर यस्तो निर्णय मन्त्रिपरिषद्बाट गराइएको हो । यसैगरी कोरोनाको महाकारीलाई भ्रष्टाचारको सुवर्ण अवसर मानेर ओली सरकारले ओम्नी औषधी खरीद काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, बालुवाटार जग्गा काण्ड, वाइडबडी जहाज काण्ड, होली वाइन काण्ड जस्ता काण्डैकाण्ड ओलीका उपहारका रुपमा रहे ।
रन्थमोल दुईमा विकृति, बिसंगतिको फेहरिस्तका साथसाथै आउने पुस्ताका लागि सजग भएर हिड्ने बाटो देखाइएको छ । सत्तामा पुगेका कांग्रेस, कम्युनिष्टका प्रतिनिधि पात्रले गरेका विकृतिको यथार्थ रुप आएको छ । यो कमजोर पक्षलाई हटाउन सक्ने सामथ्र्यको नेतृत्व नेपालले खोजेको छ । सरल भाषामा लेखिएको यो पुस्तक बढी भन्दा बढी व्यक्तिले पढ्ने र मनन गर्ने हो भने हामी परिवर्तन गर्न सक्छौं । सम्यसमाज निर्माण गर्दै सुसंस्कृति देश निर्माण गर्न सक्छौं भन्ने पुस्तकले देखाएको छ ।
महेश्वर शर्माको साहित्यिक व्यक्तित्वनै सबैभन्दा प्रमुख र जीवन्त पक्ष हो । कविता, कथा, निबन्ध, उपन्यास तथा नाटक जस्ता विविध विधामा कलम चलाउने बहुप्रतिभायुक्त शर्मा मूलतः निबन्धकार र उपन्यासकार हुनुहुन्छ । उहाँको रचनाहरुमा समाजिक यथार्थ र आलोचनात्मक यथार्थवादी प्रवृत्ति मुखरित भएको छ । यो नै उहाँको मुख्य रचनात्मक विशेषता हो ।
अन्त्यमा
अब्राह्म लिङ्कनको एउटा भनाई छ “एउटा नागरिक मुर्ख भयो भने देशलाई खासै फरक पर्दैन, तर एउटा शासक मुर्ख निस्क्यो भने देश बरबाद हुन्छ ।” यहाँ नेपालमा यस्तै भयो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
