काठमाडौं – गत असार १ गतेदेखि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीबाट २३ जना बेपत्ता भएका छन् । भेमाथाङ चौरमा गएको पहिरोसँगै मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका २३ जना बेपत्ता भएका छन् ।
हेलम्बु गाउँपालिकाले शनिबार सार्वजनिक गरेको विवरणअनुसार सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको पहिरोसँगै बुधबार राति आएको बाढीले ठूलो धनजनको क्षति भएको छ ।
बाढीमा परी चार महिला र १९ पुरुष बेपत्ता भएका छन् । बाढीले ६ वटा झोलुंगे पुल बगाएको छ भने तीन वटा मोटरेबल पुल बगाएको छ । तिम्बुमा रहेको मेलम्ची खोलाको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चेक्पु र मेलम्चीध्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ ।
चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा परेको छ । यस्तै काठमाडौं–मेलम्ची हुँदै हेलम्बु जाने सडकको डुंग्रे बजार खण्डमा करिब ३०० मिटर, चनौटेदेखि गणेशसम्मको करिब ७०० मिटर, भूमेश्वरी तितेखानी खण्डको करिब ५०० मिटर र किउल–तिम्बु–अम्बाथाङ ५ किलोकिटर सडक क्षतिग्रस्त भएको छ ।
बाढीले हेलम्बु गाउँपालिका–१ स्थित च्युरीखर्क, तिम्बु, हल्दे, आम्बाथानका करिब २८ घर टहरा बगाएको छ । वडा नम्बर २ को पुरानो चनौटे बजार–मुक्तिटार–गणेश बजार–किउलसम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११२ परिवार विस्थापित भएका छन् ।
किउलमा रहेको नवनिर्मित इलाका प्रहरी कार्यादयको भवन बनाएको पनि बगाएको छ भने वडा नम्बर ३ को भण्डारी सिममा रहेका तीन घर पनि बाढीले बगाएको छ । यसैगरी गाउँपालिकाको वडा नम्बर ७ मा पर्ने चनौटेको मुख्य बजारका करिब २५ पसल बाढीले बगाएको छ भने अधिकांश घरमा क्षति पुगेको छ । बाढीले ८ वटा ट्राउट माछा फर्ममा पूर्ण क्षति भएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
यस्तो छ बाढीबाट भएको भौतिक क्षतिको विवरण
हेलम्बु गाउँपालिका वडा नं. १ को तिम्बुमा रहेको मेलम्ची खोला पुल बाढीले बगाएको छ भने दङतोम्बा मोटरेबल पुल बाढीले बगाएको छ । चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बाढीले बगाएको छ भने वडा नं. २ चनौटे चुरेटारको रातो पुल उच्च जोखिममा रहेको छ ।
यस्तै वडा नं. १ को सर्काथली झोलुङ्गे पुल बाढीले बगाएको छ भने च्याम्भेदो झोलुङ्गे पुल पनि बगाएको छ । हेलम्बु गाउपालिकाको वडा नं. ४ र वडा नं. ३ जोड्ने ग्याल्थुम तोरिश्वारा झोलुङ्गे पुल र. वडा नं. २ र वडा नं. ७ जोड्ने चनौटे झोलुङ्गे पुल बाढीले बगाएको छ ।
– वडा नं. १ र वडा नं. ६ जोड्ने चालिचे च्युरिखर्क झोलुङ्गे पुल बाढीले बगाएको छ ।
– वडा नं. २ र वडा नं. ६ जोड्ने थापाटार झोलुङ्गे पुल बाढीले बगाएको छ ।
–काठमाण्डौ–मेलम्ची न.पा हुँदै हेलम्बु आउने सडकको ढुङ्ग्रे बजार खण्ड करिब ३०० मिटर, चनौटे देखि गणेशेम्म को करिव ७०० मिटर, भूमेश्वारी तितेखानी खण्ड करिब ५०० मिटर र किउल–तिम्बु– अम्बथाङ ५ कि.मि. सडक पूर्ण रुपमा बाढीले बगाई बगरमा परिणत भएको छ ।
–वडा नं. ७ को इचोक जाने बाटो करिब १ किमि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
बाढीले बगाएर क्षति भएको मुख्य बस्तीहरुः
–वडा नं. १ स्थित च्युरिखर्क, तिम्बु, हल्दे, अम्बाथानमा गरी करिब २८ घर टहरा भित्रका चौपाया तथा खाद्यान्न सहित बगाएको छ ।
–वडा नं. २ पुरानो चनौटे बजार– मुक्तीटार – गणेशेबगर – किउल सम्म पूर्ण र आंशिक रुपमा घर टहरामा भएको क्षतिले ११३ परिवार विस्थापित भएका छन् ।
–वडा नं. २, किउलमा रहेको नवनिर्मित ईलाका प्रहरी कार्यलय, हेलम्बु बाढीले बगाएको छ भने वडा नं. ३ स्थित भण्डारी सिममा रहेको ३ घर बगाएको छ ।
–वडा नं. ७ मा रहेको चनौटे मुख्य बजार भित्र रहेका करिव २५ व्यापरिक पसल बाढीले बगाएको र अधिकांश घरहरु पूर्ण रुपमा क्षति भएको छ ।
८ रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षति
हेलम्बु गाउँपालिकामा पछिल्लो समय लोकप्रीय बन्दै गएको रेन्बो ट्राउट माछा फर्मपनि बाढीको सिकार भएको छ । मेलम्ची बाढीबाट ८ वटा फर्म पूर्ण रुपमा नष्ट हुँदा करोडौँको क्षति भएको छ ।
–वडा नं. १ को तल्लो तिम्बु स्थित हेलम्बु रेन्बो ट्राउट तथा रिसर्च प्रा.लि. पूर्ण रुपमा क्षतिग्रस्त भएको ।
–वडा नं. २ को धर्तिमाता ज्योति ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. २ स्थित ठंगले सामुदायिक कृषि ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. २ को भण्डारी ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. २ गणेशे बगर ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. ३ को जयबागेश्वरी रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. ४ मा रहेको रेन्बो ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
–वडा नं. ६ को न्यू भण्डारी ट्राउट फर्म पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको यो क्षतिको आंशिक विवरण हो । बिस्तृत विविरण तयार भइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
