Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भक्तपुरबाट स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित दुई पक्राउ


  • शुक्रबार, फाल्गुन २८ २०७७

  • भक्तपुरबाट स्रोत नखुलेको  ४२ लाख रुपैयाँसहित दुई पक्राउ

    काठमाडौं – प्रहरीले ४२ लाख बढी अवैध नगदसहित दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बैतेश्वर–६ घर भई हाल भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय बिनोद तामाङ छन् ।
    उनीहरु दुवैलाई शुक्रबार सम्पति शुद्धीकरण विभाग पुल्चोक, ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ । जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसरमा कार्यरत प्रहरी निरीक्षकद्वय शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन भएका थिए । सो टोलीले बिहीबार बिहानपख २ बजेतिर पेप्सीकोलाबाट सानोठिमी तर्फ आउँदै गरेको बा २१ च ३८३९ नं.को नीलो रंगको कारको डिक्कीबाट २७ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।

    प्रहरी नायव उपरीक्षक गिरीका अनुसार कार चालक तामाङले दिएको बयानको आधारमा प्रहरीले बालकोटमा डेरा गरी बस्ने घिमिरेको खोजी सुरु गरेको थियो । पेप्सीकोलामा फेला परेका घिमिरेले उक्त रकम आफ्नो भनी स्वीकार गरेका थिए । बालकोटस्थित डेरामा समेत खानतलासी गर्दा प्रहरीले थप १५ लाख ३० हजार नगद बरामद गरेको थियो ।
    घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकको चेक पनि बरामद भएको प्रहरीले जनाएको छ ।
    यसैगरी ९ लाख ५० हजार रुपैयाँको प्राइम बैंकको बाउन्स चेक र एक लाख २५ हजार रुपैयाँको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चेक, नेपाल बैंक लिमिटेडको ९ लाख ९९ हजार रुपैयाँको चेक र महालक्ष्मी विकास बैंकको १५ लाख रुपैयाँको चेक र मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको भौचर बरामद भएको छ ।
    सुमन घिमिरेविरुद्ध २०७४ साल कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा मुद्दा दर्ता भएको समेत पाइएको भक्तपुर प्रहरीले जनाएको छ ।
    साथै २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंबाट बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij