Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनितिक संकट, कांग्रेस र आन्दोलन


  • मंगलबार, पुष २१ २०७७

  • राजनितिक संकट, कांग्रेस र आन्दोलन

    राजनीतिक घटनाक्रमले हाम्रो देश असजिलो अबस्थामा छ। यो हाम्रो आन्तरिक मामिला हो। तर हामी मिल्न सकेनौ भने अरूले हेर्न पर्ने परिस्थिति हुन्छ भन्ने स्पष्ट सन्देश दिइसकेका छन्। नेपालमा देखिएको राजनीतिक घटनाक्रमलाई हाम्रा छिमेकी मुलुकहरूले नजिक आएर हेर्न थालेका छन्। अर्को तर्फ अन्य मित्रराष्ट्रहरूले भने त्यति प्राथमिकता नदिइरहेको अबस्था पनि छ।

    नेपाली कांग्रेसले नेकपा पार्टी र सरकारले देखाएको अकर्मण्यता बिरूद्ध जनताको बल लिएर आफ्नो शक्ति प्रदर्शन गर्दै आएको छ। यतिखेर जनताको भरोसाको केन्द्र नेपाली कांग्रेस बनेको छ।

    सोही अनुरूप नेपाली कांग्रेसले केही बिरोधको कार्यक्रम अघि बढाएको छ। जस अनुसार ~
    (१) कांग्रेसले मंसिर २९ गते ७७ जिल्लामा देशव्यापी आफ्नो शक्ति प्रदर्शन गर्यो।
    (२) पुस १३ गते १६५ निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रम गरेर आफ्नो शक्ति देखाएको छ।

    (३) अब पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने छ।
    (४) माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने छ।
    (५) माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाहरुका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने छ।

    नेकपा पार्टीका दुई खेमामा एकले प्रधानमन्त्री भएर निर्वाचन नगर्ने परिस्थिति देखाउदै संसद् बिघटन गरेको अबस्था छ। अर्को पक्ष चुनाबमा भाग नलिने, हुननदिने भन्दै सडक आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन्।

    दुबै यतिखेर अतिवादी लाईनमा छन्। आक्रोश र घृणा व्याप्त छ। यस्तो अबस्थामा नेपाली कांग्रेस दुबैलाई बिश्वासमा लिदै, संझाउदै, अदालतमा बिचाराधिन मुद्दामा अदालतको फैसला आएपछि पनि सँगै हिड्ने गरी अहिले सम्हालेर लिएर हिड्न जरूरी छ। कुनै एक पक्षको पक्षपोषण कांग्रेसले गर्नहुदैन, गर्दैन। कांग्रेस जनतासम्म पुग्ने आफ्नै कार्यक्रम लिएर हिडेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका यताकेही दिनका भाषण अत्यन्तै निम्नस्तरको, उरन्ठेउले, हसाउने पालाको उखान-टुक्का शैलीको आइरहेको छ। यस्ता शव्दहरु त्यस्तो उचो जिम्मेवारीमा रहेको व्यक्तित्वले भन्न सुहाउदैन। प्रधानमन्त्री सँग असिमित उखान टुक्का छन्। तर यतिबेला जनता कोभिड लगायतको पीडामा छन्। प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुनुपर्ने हो!

    त्यसैगरी माधवकुमार नेपाल र प्रचण्डहरूका समुहले भनेगरेका कतिपय प्रधानमन्त्री, राष्ट्रपति माथि गरिएको अभिव्यक्ति तल्लो स्तरको छ। यो खालको बिचार प्रधानमन्त्री जस्तो पदमा पुगिसकेका व्यक्तिहरूले भन्न हुने, सुहाउने होइन। तर यहाँ दुबैमा एकले अर्कालाई खुईलाउने प्रतिस्पर्धा छ।

    नेपालका कम्युनिष्ट नेताहरू मनपर्दा गर्ने प्रसंशा र मननपर्दा गर्ने घृणाको सीमा हुदैन। हुनतः एकको कमजोरी अर्कोलाई थाहाँ भएर नै भनिएको पनि होला ! तर यो समाजलाई अपाच्य हुने किसिमले आएको छ। यो तत्काल रोकिनु पर्दछ।

    समग्रमा नेकपाको भ्रष्टाचार, अनियमितता, असक्षमता र गैरजिम्मेवारीपन सबै दुनियाँले भोगि रहेका छन्। ठूलो आशा, भरोषा र विश्वासले जनताहरूले मतदानका माध्यमबाट आफ्नो समर्थन र बिश्वास जनाएका थिए। तर हिजो साथ दिएका जनता आज निराश र आक्रोशित बनेका छन्।

    नेपाली कांग्रेसले र नेकपाले तुलनात्मक रूपमा नेपालको राजनीतिमा समय-समयमा अबसर पाएका छन्।

    नेपाली कांग्रेसले २००७ सालबाट २०१७ मंसिर मसान्तसम्म पाएको अबसर र गरेको काम नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। २०१७ पौस १देखि २०४६ सालसम्मको आन्दोलन पनि गौरवपूर्ण छ। २०४७ साल बैशाखमा पाएको अबसर होस् वा २०६२~६३ मा पाएको अबसरमा कांग्रेस चुकेको छैन।

    नेपाली कांग्रेसका नेताहरू वीपी कोइरालाले नेपालको सन्दर्भमा लोकतन्त्रको सिद्धान्त प्रतिपादन गरेको, राष्ट्र, राष्ट्रियतालाई लिएर मेलमिलापको नीति लिएको देखिन्छ। सुवर्ण शमशेरले संवैधानिक राजसंस्था संग मिलेर जान सकिन्छ की भन्दै मेलमिलापको नीति लिएको देखिन्छ। गणेशमान सिंहले नेकपालाई पनि सँगै लिएर हिड्न मेलमिलापको नीति लिएको देखिन्छ। कृष्णप्रसाद भट्टराईले संविधान बनाउन, चुनाव सम्पन्न गराउन र कांग्रेस पार्टीलाई बिभाजनबाट रोक्न मेलमिलापको नीति लिएको देखिन्छ। २०६२~६३ को आन्दोलनको नेतृत्व गरेर गिरिजाप्रसाद कोइरालाले नेकपा र राजालाई समेत सँगै लिएर हिडेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकेको देखिन्छ। त्यसैगरी सुशील कोइरालाले संविधानसभामा संविधान निर्माण गर्न सबैलाई मिलाएर लिएर हिडेर संविधान निर्माण गरेको देखिन्छ। सभापति शेरबहादुर देउवाले संविधानसभाले बनाएको संविधान कार्यान्वयन गरेको देखिन्छ।

    नेकपा सुरूवाट नै एक सैद्धान्तिक बिचारको रूपमा मात्र सिमित रह्यो। यसले खुला किसिमको आन्दोलन भन्दा दर्शन अनुरूप भूमिगत काम गर्यो। जसले गर्दा जिम्मेवारी लिएर काम गर्ने भन्दा बिरोध मात्र गरेर आफूतर्फ आकर्षित गरे।

    २०४६ सालको आन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंहले खुला आन्दोलनमा ल्याएपनि नेकपा आफै मिलेर बनाएको २०४७ को संविधानलाई आलोचनात्मक समर्थन गरेर आफ्नो सैद्धान्तिक संकुचन देखाएको थियो।

    नेकपाका संस्थापक नेता पुष्पलाल र मदन भण्डारी सैद्धान्तिक रूपले आदरणीय र सम्मानित हुनुहुन्छ। मनमोहन अधिकारी शालिन, असल व्यक्तित्वका रूपमा हुनुहुन्छ। उहाँलाई राज्य संचालनको लामो समय प्राप्त भएन। तर पनि ९ महिनाको शासन अबधि नेकपाले संझन्छ। यसपछि राज्य संचालनको महत्वपूर्ण जिम्मेवारी पाएर संविधानसभाबाट संविधान बनाएर घोषणा गर्ने ऐतिहासिक अबसर पाउनु भएका प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा•बाबुराम भट्टराईले आफ्नो जिम्मेवारी पुरा गर्न सक्नु भएन। प्रचण्ड, डा•बाबुराम भट्टराईले संविधानसभा बिघटन गरेर मुलुकलाई अन्धकारको सुरूङमा धकेलेर छोडिदिनु भयो। यसका साथै प्रचण्ड, डा•बाबुराम भट्टराईले राजनीतिक व्यक्ति प्रधानमन्त्री हुननदिएर खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर छोड्नु भयो।

    देश दिशा हिन संकट तर्फ बढिरहेको थियो। नेपाली कांग्रेसले पुनः सबैलाई समेटेर संविधानसभाको दोस्रो निर्वाचन गराउने बातावरण बनायो। दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली कांग्रेस ठूलो दलका रूपमा संविधानसभामा आयो। संविधानसभामा दोस्रो ठूलो दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर संविधान बनाउन सहमत हुनुभयो। प्रचण्ड, डा• बाबुराम भट्टराईले संविधान बन्न नदिन धेरै प्रयास गर्नुभयो। संविधान बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र नेकपा अध्यक्ष केपी शर्मा ओली स्पष्ट रूपमा उभिए पछि संविधानसभाले संविधान बनाएर घोषणा गर्न सक्यो।

    अहिले देश पुनः त्यही संकटको अबस्थामा पुग्ने हो की भन्ने सर्वत्र चिन्ता र चासो छ। यो परिस्थितिलाई हटाएर समयमानै संविधान अनुसार काम हुनसक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी फेरि नेपाली कांग्रेसलाई आएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संघीय संसद् बिघटन गरेर बैशाखमा चुनाव गर्ने भनेर राष्ट्रपतिबाट आएपछि कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको छ। संघीय संसद् बिघटन भएपनि प्रदेश सभा र पालिका सरकारहरू संविधान अनुरूप नै संचालनमा छन्। संघीय संसद् बिघटनको बिषय न्यायालयमा छ। न्यायालयको फैसला पछि कांग्रेसले आफ्नो दृष्टिकोण र कार्यक्रम अबश्य बनाउनेछ। त्यसपछिको परिस्थितिमा पनि सबैलाई सँगै लिएर हिड्न कांग्रेस तयार अबस्थामा रहन्छ। कांग्रेस मध्यमार्गी पार्टी हो। दुवै अतिवादको बिचमा बसेर कांग्रेसले आफुलाई स्पष्ट पार्दै अघि बढ्न जरुरी छ।

    अन्त्यमा, अहिलेको बिषम परिस्थितिबाट देशलाई बाहिर निकाल्न कांग्रेसले नागरिक संवाद गर्न जरूरी हुन्छ। नागरिकका बिचमा बसेर आफ्नो कुरा स्पष्टसँग राख्ने। जनताको कुरा सुन्ने र त्यसलाई नीति कार्यक्रम बनाएर अगाडि बढ्ने कांग्रेसको स्पष्ट दृष्टिकोण छ। यसै अनुरुप अगाडि बढ्न मंसिर २९ र पुस १३ को कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैगरी आउने दिन पुस २५ गते गर्ने भनिएको प्रदेश निर्वाचन क्षेत्रको कार्यक्रम, माघ ३ गते गर्ने भनिएको पालिका स्तरीय कार्यक्रम र माघ ८ गते गर्ने भनिएको देशभरका वडा स्तरिय कार्यक्रमले गर्दा कांग्रेसले जनताको भावना नजिकबाट बुझ्ने छ। भबिष्यको लागि जनताको अभिमत अनुसारको कार्यक्रम बनाएर सबै राजनीतिक दललाई सँगै लिएर हिड्ने नीति कार्यक्रम कांग्रेसले बनाउने छ।
    (लेखक: नेपाली कांग्रेसका सुचना, संचार तथा प्रचार विभागका सदस्य हुन्)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij