Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभापति देउवाद्वारा तिहार एवं नेपाल सम्वतको शुभकामना व्यक्त


  • सोमबार, मंसिर १ २०७७

  • सभापति देउवाद्वारा तिहार एवं नेपाल सम्वतको शुभकामना व्यक्त

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले हिन्दुहरुको महान चाढ तिहार एवं नेपाल सम्वतको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन । आज एक सन्देश दिदै देउवाल कोरोना महामारीमा सचेत भएर चाढ मनाउन समेत आग्रह गरेका छन ।

    मंसिर १, २०७७

    भाइटिका तथा नेपाल सम्वत् ११४१ को
    शुभ–कामना

    नेपालीहरुको महान चाड तिहारको पाँचौ दिन भाइटिका तथा नेपाल सम्वत्को नयाँ वर्ष ११४१ को सुखद् अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवं विभिन्न संस्कृति भएको देश हो । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।

    त्यसैगरी, बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल
    मानिन्छ । नेपाल सम्वत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर हो । नेपाल सम्वत्को नयाँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउँछ । यसको प्रचलन तिनै समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं ।

    कोभिड—१९ को महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेको छ । यसको रोकथाम र नियन्त्रणमा सरकार जनताका प्रति गैर जिम्मेवार, अनुत्तरदायी र संवेदनहीन देखिएको छ । सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी छ । तसर्थ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै सामाजिक दुरी कायम गरेर पर्व मनाउन म सबैलाई आग्रह गर्दछु ।

    अन्त्यमा, अन्धकार विनास गर्ने उज्यालोको पर्व तिहार र हाम्रो आफ्नै धरतीबाट उठेको नेपाल सम्वत्को नयाँ दिनले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै, तिहार तथा नेपाल सम्वत्को नयाँ वर्षको उपलक्ष्यमा म सबैमा सुख, शान्ति र समृद्धिको पुनः शुभकामना व्यक्त गर्दछु ।

    जय नेपाल !

    शेरबहादुर देउवा
    सभापति

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij