काठमाडौं – नेपाल पत्रकार महासंघले संचारकर्मीहरुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै निशुल्क पिसिआर परिक्षण गर्न माग गरेको छ । महासंघले विश्वव्यापी रुपया फैलिएको कोभिड ( १९) को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको जनाउँदै महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका उल्लेख गरेको छ । संक्रमणको दर वृद्धि भएसंगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको महासंघले जनाएको छ । हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेको पनि महासंघले जनाएको छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मिहरुमा अपिल गरेको छ । सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
