लन्डन – संयुक्त अधिराज्य बेलायतका स्वास्थ्यमन्त्री नदिने डोरिसलाई नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ ।
कन्जरभेटिभ पार्टीकी सांसदसमेत रहेकी डोरिस बेलायतमा कोरोना संक्रमित हुने पहिलो सांसद हुन् । उनले आफूलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण सावधानीहरु अपनाइएको र अहिले ‘सेल्फ-आइसोलेसन’मा रहेको बताएकी छन् ।
यसअघि बेलायतमा एक ८० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । स्वास्थ्यमन्त्री डोरिससँगै बसेकी उनकी ८४ वर्षीया आमालाई पनि मंगलबारदेखि खोकी लागेकोमा उनी चिन्तित छन् ।
डोरिससँग विगत १४ दिनयता सम्पर्कमा रहेका मानिसहरुको खोजी भइरहेको छ । अहिलेसम्म उनले पछिल्ला दिनहरुमा वेस्टमिन्सटरमा कतिवटा बैठकमा सहभागी भइन् भन्ने यकिन हुन सकेको छैन ।
बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार उनलाई गत बिहीबार कोरोनाको लक्षण देखिएको थियो । सोही दिन उनी १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री बोरिस जोन्सनको अध्यक्षतामा बसेको बैठकमा सहभागी भएकी थिइन् । उनी शुक्रबारदेखि भने सेल्फ-आइसोलेसनमा बसेकी थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
