टोकियो – बैदेशिक रोजगारी, व्यापार, अध्ययन आदीका लागी विदेशीएका परिवारका अभिवावकहरुलाई सधै एउटै कुराले पिरोली रहेको हुन्छ, त्यो हो वालबच्चाको उचित शिक्षादिक्षा । त्यसमा पनि आफ्नै भाषा, परिवेश र पाठ्यक्रम अनुसारको शिक्षा दिन नपाउँदा नमज्जा लाग्नु स्वभाविक हो । आफ्ना बालबालिकाले आफ्नै भाषा, संस्कृतिअनुसारको शिक्षा पाउन भन्ने अपेच्क्षा राख्नु उचित मात्र नभएर अत्यावश्यक समेत छ ।
संसारभर छरिएका नेपाली प्रवासीहरुको यो चाहाना पुरा हुन नसकिरहेको बेला जापानमा भने एउटा प्रशंसनिय प्रयासको थालनी भइरहेको छ । जापानको टोकियोमा खुलेको एभरेष्ट इन्टरनेशनल स्कुलले त्यहाँ रहेका नेपाली बालबालिकाहरुलाई नेपाली पाठ्यक्रमको पढाई नेपाली भाषामा नै दिने व्यवस्था गरेको छ । उक्त स्कुलको भ्रमण गर्दा नेपालकै कुनै सुविधा सम्पन्न विद्यालय भित्रै रहेको भान हुन्छ । नेपाली शिक्षकहरुले नेपाली भाषामा नै पढाइरहेका भेटिन्छन् ।

अध्यक्ष .भुपालमान श्रेष्ठ
विद्यालयको नेतृत्व गरिरहेका अध्यक्ष डा.भुपालमान श्रेष्ठले विद्यालयलाई राम्रो शिक्षा दिन परिश्रम गरिरहेका छन् । उनका अनुसार जापानमा हुर्के बढेका नेपाली बालबालिकाहरुले जापानी भाषा मात्रै बोल्ने र नेपाली सिक्ने अवसर नहुने भएकाले विद्यालयले नेपाली भाषामा मैलिक शिक्षा दिन स्कुल स्थापना गरिएको हो । कतिपय बालबालिकाहरु नेपालमा पढ्दा पढ्दै जापान जाने र जापानमा पढ्दा पढ्दै नेपाल जानु पर्नेहरुका लागि पनि यो विद्यालय उपयोगी सावित भएको छ ।
डा. श्रेष्ठका अनुसार बच्चाहरुमा भाषाको समस्या हुँदा आफ्नो परिवार र आफन्तजनसंग पनि टाढिने समस्या देखा परेको छ । नेपाली भाषाकै विद्यालयमा पढ्ने अवसर पाएपछि भाषाको समस्या नहुने भएकाले पारिवारिक निकटतालाई समेत सघाएको डा. श्रेष्ठको अनुभव छ ।
विद्यालयले नसरी, युकेजी र एलकेजीका साथै एकदेखी नौ कक्षासम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा २ सय ६० विद्यार्थीहरुले शिक्षा लिइरहेका छन् । उक्त विद्यालयमा अन्य मुलुकका करिब एक दर्जन बालबालिकाहरुले पनि अध्ययन गरिरहेका छन् । एभरेष्ट स्कुल जापानले नेपालको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘करिकुलम’ अनुसार नै पढाई सञ्चालन गरिरहेको श्रेष्ठ बताउँछन् । जापानमा बस्ने हुँदा जापानी भाषाको आवश्यकतालाई ध्यानमा राखेर जापानी भाषा समेत पढाइदै आएको छ ।
औपचारिक पढाई मात्र होइन, विद्यालयले नेपाली कला र संस्कृतिको पनि शैद्धान्तिक र व्यवहारिक ज्ञान दिएकोछ । नेपालका मुख्य मुख्य चाढपर्वहरुका बारेमा पनि व्यवहारिक ज्ञान दिइने गरेको छ । जसले गर्दा बालबालिकाहरु आफ्नो धर्म, संस्कृति र रितिरिवाजका बारेमा पनि नजिक जोडिएका छन् । आफ्नै भाषा र संस्कृतिसहितको शिक्षा पाउँदा विद्यार्थी मात्र होइन अभिवावक पनि खुशी छन् । जापानको टोकियोमा मात्रै विद्यालय भएकाले अन्य शहरमा रहेका नेपालीहरुले भने आफ्ना बालबालिकाहरुलाई एभरेष्टको शिक्षा दिन सकेका छ्रैनन् ।

एभरेष्टले विद्यार्थीहरुलाई शिक्षा मात्रै दिएका छैन् । संगसगैं नेपाल पनि चिनाएको छ । जापानमा जस्तै अन्य मुलुकमा पनि यस्ताखाले विद्यालयको आवश्यकता डा. श्रेष्ठले देखेका छन् । यस्ता किसिमका विद्यालय अन्य मुलुकमा खोल्न चाहेमा नेपाल सरकारले सहज नीति लिनु पर्ने सुझाव डा. भूपालमान श्रेष्ठको छ । सरकारबाट यस्ता विद्यालयलाई सहयोग भए पनि पर्याप्त चासो भने अझै नदिइएको अध्यक्ष श्रेष्ठको अनुभव छ । यस प्रकारको स्कुल विस्तार गर्न नेपाल सरकार थप गम्भिर बन्नु पर्ने सुझाव उनको छ ।

विदेशी माटोमा शिक्षाको माध्यमबाट नेपालको सुगन्ध फैलाउन अहोरात्र खटिरहेका प्रिन्सीपल डा. श्रेष्ठ नेपालमा गोरखाको आरुघाटमा जन्मिएका हुन । आरुघाटमै विद्यालय स्तरको शिक्षा पुरा गरेका श्रेष्ठ उज्यालो भविष्यको खोजीमा काठमाडौं पुगे । काठमाडौंमा उच्च शिक्षा हासिल गरेका श्रेष्ठले कामकै शिलसिलामा जापानी भाषा सिके । त्रिभुवन विश्वविद्यालय र जापानको सोका विश्वविद्यालयविचको विद्यार्थी भ्रमण आदानप्रदान कार्यक्रम अन्तर्गत उनी जापान पुगे । उनले सोही विश्वविद्यालयबाट पिएचडी पुरा गरे ।
जापानमा नै केहि गरौं भन्ने भावनाले डा.श्रेष्ठले केहि समय पत्रकारिता पनि गरे । अहिले पनि कुनै न कुनै रुपमा पत्रकारितासंग उनको नाता टुटेको छैन् । सन् २०१३ देखी निरन्तर एभरेष्ट इन्टरनेशनेल स्कुलको नेतृत्व गरिरहेका उनी जापानको नेपाली समाजमा प्रतिष्ठीत र बौद्धिक व्यक्तित्वका रुपमा स्थापित छन् ।

लामो जापान बसाइले उनलाई नेपाली समाजसंग मात्रै जोडेको छैन्, जापानका विभिन्न निकायमा पनि स्थापित गराएको छ । उनी टोकियो महानगरपालिकाको मल्टी कल्चर कमिटीमा रहेर काम गर्ने एक मात्र विदेशी नागरिक हुन । त्यस्ता अन्य थुर्पै निकाय र समुदायका अंगहरुसंग जोडिएर आफ्नो ज्ञान, सिप बौद्धिकता बाढिरहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
