काठमाडौं -गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) का कर्मचारी माग गरेको हो।
सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत देशैभरका ७५३ वटा स्थानीय तहमा सेवा इकाइका लागि कर्मचारी माग गरिएको हो।
इच्छुकहरूले अनलाइनबाट दरखास्त पेश गर्न पाउने गृह मन्त्रालयले जनाएको छ।
एमआईएस अपरेटर र फिल्ड सहायक पदमा खुला प्रतिस्पर्धाबाट करारमा कर्मचारी राख्ने गृहले मंगलबार गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ। दरखास्तका लागि १५ दिनको समय दिइएको छ।
एमआईएस अपरेटर नौ सय ९४ जना र फिल्ड सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) नौ सय ९५ जना कर्मचारी माग गरिएको गृहले जनाएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन पाउँछन्। प्लस टु र एसएलसी वा सो सरह उत्तिर्ण गरेकोले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ।
दरखास्त फारम http://application.donidcr.gov.np मा हेर्न सकिन्छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
