काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानुपर्ने बाध्यता हटाउनुपर्ने बताएका छन्।
आज कान्तिपुर हिसान एडु फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको बिरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउँदो नभएको बताए।
प्रधानमन्त्री ओलीले भने –‘देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ । कुनै विशिष्ट प्रकारको प्राविधिक शिक्षा लिन विदेश जाने कुरा बेग्लै हो, तर सामान्य विषय अध्ययनका लागि विदेश जाने चलन हटाउनु पर्दछ। त्यसैले हामीले विदेशमा जतिकै गुणस्तर दिन सक्ने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछ।’
साथै प्रधानमन्त्रीले भने – ‘निजी शैक्षिक संस्थालाई हामी जबरजस्ती बन्द गर्न भन्दैनौं तर सामुदायिकको गुणस्तर उकासेर निजीमा जानै नपर्ने स्थितिको सृजना गर्दछौं।’
प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा सरकारर निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताए।
‘शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा लगानी गर्नुहोस्, सरकार तपाईंहरूलाई प्रोत्साहित गर्दछ। त्यतिमात्र होइन तपाईंहरूको लगानीको सुरक्षा र संरक्षण पनि गर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले शिक्षा प्रतिस्पर्धी, रोजगारमूलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनुपर्ने बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
