वीरगञ्ज – पर्सामा बुधबार बेलुका आएको हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । हावाहुरीको पर्साको पकाहा मैनपुर गाउँपालिका १ धोरेकी १५ बर्षकी श्रुति सहनीको मृत्यु भएको हो ।
।
हावाहुरीले जिराभवानी गाउँपालिका ४ को मोटरसाइकल ग्यारेज र खाजा घर समेत गरी ४ वटा घरको छाना उडाएको छ । पर्साको धोवीनी–१ पिपरा बस्ने अफताव पटेलले सञ्चालन गरेको कुखुरा फर्म भत्किएको प्रहरीले जनाएको छ ।
फर्म भत्किँदा फर्ममा रहेका १ हजार ५ सय कुखुरा र दाना १६ बोरासमेत नष्ट भएको छ । हावाहुरीले पटेलको फर्ममा ४ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हावाहुरीले पोखरीया बजार चौकमा ३ वटा बिजुलीको पोल ढालेका कारण त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार केही प्रहरी कार्यालयको छानो उडाउनुको साथै भवन भत्किएका पनि छन् । अस्थायी प्रहरी पोष्ट पोष्ट सुपौलीको भान्सा घरको छाना, सीमा प्रहरी चौकी भिश्वा बञ्जारीको भान्छा घरको छाना उडाएको र पर्खाल भत्काएको छ ।
प्रहरी चौकी अमरपट्टी महिला ब्यारेकको ढोका भत्काएको, प्रहरी चौकी आशवारीको मेस भवन भत्किएको, प्रहरी चौकी धोरेको भान्सा घरको छाना उडाएको र प्रहरी चौकी प्रसौनीभाठाको ब्यारेकको झ्याल बाङ्गिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
