काठमाडौं– समाचारको विषयलाई लिएर वैशाख ३० गते एभिन्यूज टेलिभिजनका पत्रकारलाई दिइएको ज्यान मार्ने धम्की तथा एभिन्यूजनको वीरगञ्ज कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर पत्रकार पाण्डेलाई विष्णुजंग बस्नेत नामका व्यक्तिले ९८५१००५१८० नम्बरको मोबाइलबाट फोन गरी ज्यान मार्ने धम्की दिएका थिए भने सोही विषयलाई लिएर समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा आक्रमण र तोडफोड गरेका थिए ।
समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सञ्चारगृह तोडफोड गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रेस विरोधी यस्ता कार्यको कडा भत्र्सना गर्दछ । र, दुवै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकार र सञ्चार गृहको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ ।
साथै, महासंघ सञ्चारकर्मीहरुलाई पनि समाचार सामग्री संप्रेषण गर्दा आचारसंहिताको पालना गर्न र मर्यादित रहन आग्रह गर्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
