Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै


  • आइतबार, फाल्गुन २६ २०७५

  • राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै

    काठमाडौँ – आज साँभ राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएकी छिन् ।
    राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिनेछिन् ।

    राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नेछन् ।
    राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नेछिन् ।
    सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनले फागुन २९ गते संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन् ।
    राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।
    राष्ट्रपति भण्डारी चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij