Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिन्छ– अध्यक्ष प्रचण्ड


  • सोमबार, माघ २८ २०७५

  • मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिन्छ– अध्यक्ष प्रचण्ड

    सिराह– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन्।
    आज सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ‘संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौं ।’

    पूर्वप्रधानमन्त्री एवम् रहेका अध्यक्ष प्रचण्डले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै मधेसको विकास गरेर मात्रै मधेसी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए।
    ‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
    धानखेतीमा पनि सिरहा उर्वर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनको रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
    ‘अहिलेको संविधानले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारका रुपमा राखेको छ’, उनले भने, ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रकृया सुरु गरेको छ । उपचार नपाएर गरिबीको कारण अब कोही मर्नु पर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ । नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
    सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको उनको भनाइ थियो। ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’, अध्यक्ष प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईँहरुलाई सहयोग रहने छ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि नै छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij