काँग्रेसमा पौडलेको दादागिरी
नेपाली काँग्रेसले पूर्व शिक्षा मन्त्री, गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता गोविन्द राज जोशीलाई पार्टीबाट निष्कासन गर्ने खबर र सँगसँगै आएका खण्डनका समाचारहरू पनि देखियो ।
नेपाली काँग्रेस तनहुँले काङ्ग्रेसबाट गोविन्द राज जोशी र उनको सदस्यता खारेजबारे प्रकाशित समाचारप्रति आपत्ति जनाएको समाचार पनि पढेँ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पौष २४ गते सार्वजनिक गरेको विज्ञप्तिमा जोशीलाई पार्टीबाट निकालिएको उल्लेख गरिएको थियो। यही सम्बन्धमा प्रकाशित समाचारको तनहुँ काँग्रेसले ध्यानाकर्षण गराएको रहेछ ।
एउटा सचेत नागरिक र नेपाली काँग्रेसको राजनीतिसँग नजिक रहेर बि पी मार्गमा हिँडेर जीवनको आधा आधि समय कटाइसकेका म जस्ता कार्यकर्ताहरूले चुप लागेर बस्नु पनि उचित नहोला जस्तो लाग्यो। त्यसैले म जस्ता सच्चा काँग्रेसहरूको लागि यो चिठी लेख्ने जमर्को गरेको छु ।
तनहुँ काँग्रेसमा रहेको वैचारिक दुई धारको राजनीति र रामचन्द्र पौडेल र गोविन्द राज जोशी बिचको राजनैतिक खिचातानी तनहुँ बासी माझ सर्व विदितै छ। यसबिच पनि कसले कति विकासको नारा लिएर गाउँ पसेको छ भन्ने कुरा पनि सम्पूर्ण जनतामा छर्लङ्गै छ।
कुरा सुरु गरौँ गएको प्रतिनिधि सभाको चुनावबाट, गएको चुनावमा गोविन्द राज जोशीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउन गएका थिए। तर उनको उम्मेदवारी रद्द भएको थियो।त्यो बेला उम्मेदवारी रद्द को लागि एजेन्डा लिएर अगाडि आउने अनि अहिले आएर रद्द भइसकेको उम्मेदवारीको बखेडा झिकेर उनीको पार्टी सदस्यता खारेज गर्नु कतिको जायज हुन्छ? के थिए त तथ्यहरू सरसर्ती हेरौँ।
नेपाली काँग्रेसको विधानको धारा ४९ को (११) (ख) मा बागी उम्मेदवार भई चुनाव लडेमा पार्टी सदस्यता नरहने भन्ने प्रावधान रहेको छ।त्यसमा पनि चुनाव लड्ने स्थिति आएको खण्डमा र चुनाव लडेको खण्डमा मात्रै।
तर यहाँ त्यस्तो छैन रामचन्द्र पौडेलले आफूसँगै गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको दाबी रामचन्द्र पौडेलको उजुरी अनुसार गोविन्दराज जोशीको उम्मेदवारी रद्द भई चुनाव लड्न नपाएको कुरा हामी सम्पूर्ण माझ छर्लङ्ग देखिन्छ ।
मतपत्रमा उमेदवारीको नामनै नभएको, चुनाव चिन्ह रोज्न नपाएको, उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदा गोविन्दराज जोशीको नाम नरहेको, अवस्थामा चुनावमा उनको बागी उमेद्वारी थियो भनेर कसरी भन्न सकिन्छ ?
के छ त नेपाली काँग्रेसको विधानमा
नेपाली काँग्रेसको विधानको धारा ४२ (४ ) मा कुनै पनि सदस्यलाई कारबाही गर्न केन्द्रीय अनुशासन समितिको स्पष्टीकरण माग्ने , धारा ४२ कै(५ ) अनुसार कारबाही गर्दा सफाइको उचित मौका दिनुपर्नेछ भन्ने वैधानिक व्यवस्था छ। साथै प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफूमाथि लगाइएको आरोपको प्रतिरक्षा गर्ने मौकाबाट कोही कसैलाई पनि वञ्चित गर्न पाइनेछैन।
भने गोविन्दराज जोशीलाई हालसम्म पनि आफू माथि लगाइएको आरोपको खण्डन गर्ने सूचना सम्म पनि नदिएको देखिन्छ। नेपाली काँग्रेसको विधानको धारा ३३ अनुसार अनुशासन समिति गठन नभएको अवस्थामा कोही कसैलाई कारबाहीको दायरामा ल्याउन पाइनेछैन । तर यसका विरुद्धमा गएर गोविन्दराज जोशीलाई नेपाली काँग्रेसको साधारण सदस्यताबाट हटाइको भन्ने भ्रमपूर्ण समाचार प्रकाशित गर्नु कतिको जायज कुरा हो?
गोविन्दराज जोशीलाई भ्रष्टाचारको मुद्दामा मुछेर जिन्दगीभर काँग्रेसको बाटो सफा गर्नेहरूलाई यो चेतना हुनु जरुरी छ की गोविन्द राज जोशीको जीवन स्तर बहुदल आउनु भन्दा अगाडि नै धेरै राम्रो थियो , दमौली बजारको बिचमा घर थियो परिबार हुनेखाने थिए ।
तनहुँ, लमजुङ, कास्की र गोर्खामा उनको वकालतले आफ्नै वर्चस्व बनाएको थियो। धेरैजसो मुद्दामा बहस गर्न उनलाई बोलाइन्थ्यो। उनी नेपाली राजनीतिमा चप्पल लगाएर छिरेर जुत्ता लगाएर निस्केका मान्छे पनि होइनन्।नेपाली राजनीतिमा आउनु भन्दा पहिला देखिनै उनले आफ्नो छवि बनाइसकेका थिए।
जोशीका छोरा छोरी र नाता गोताले आफ्नै बलबुतामा जीवन चलाउँदै गए। तर पौडेलका सबै नाता गोता पदमा आसीन रहिरहे । तर पनि किन गोविन्द राज जोशीको मात्र खेदो खन्ने प्रयत्न गरिन्छ । पौडेलका छोरा र छोरी ज्वाइको पछिल्लो दश बर्षमा भएको प्रगति हेर्ने हो भने सहजै अनमुान लगाउन सकिन्छ कसले कति कुम्लायो भनेर ।
विकासका काम नगर्ने, आफूलाई जहाँ सहज लाग्छ त्यही चुनाव लड्ने, अनि जनताले भोट दिई रहनु पर्ने ? यो कस्तो किसिमको प्रजातान्त्रिक अभ्यास हो? जोशीको पालामा तनहुँ मात्र नभएर वरिपरिका जिल्लामा पनि काँग्रेसको जीत हुन्थ्यो तर पौडेलले आफ्नै जिल्लामा ६ सिट गुमाउँदा पनि दम्भ गएको छैन ।
तनहुँको विकासमा जोशीको योगदान कति छ भनेर जिल्लामा गएर सोध्नुभयो भने सबै ले प्रस्ट रूपमा भनी दिन्छन्। विकासको काममा हातै नहाल्ने पौडेललाई तनहुँका जनता किन पछि लाग्छन् यो बुझ्न गाह्रो लागेको छ।रामचन्द्र पौडेलले केवल आफ्नो फाइदाको लागि बुद्धि कुमार देखि यम बहादुर आले सम्मलाई प्रयोग गर्दै मिल्काउँदै गरे।
जोशी लाई भ्रष्टाचार को मुद्दा लगाउने , चुनाव लड्न नदिने, महासमिति को बैठकमा भाग लिन नदिने र अहिले पार्टीको साधारण सदस्य बाट नै निकाल्छु भन्दै गर्दा तनहुँका काँग्रेस कतै आफैले आफैलाई अप्रजातान्त्रिक बाटोमा त लैजाँदै छैन । मैदानमा उत्रिए पछि नतिजा स्वीकार गर्न नसक्ने हरुवा मानसिकताले तनहुँ काँग्रेस नराम्रो सँग जकडिएको छ ।
जसका विभिन्न कारण होलान् तर सबैभन्दा ठुलो कारण हो जोशीलाई निष्कासन गर्ने मनसायले गरिएको घृणित राजनीति।पार्टीको केन्द्रीय कार्यालयदेखि तनहुँ र अन्य थुप्रै जिल्लाको पार्टी कार्यालय बनाउन पु)याएको जोशीको योगदान यति छिटै कसरी बिर्सेको होला? इतिहासलाई फर्केर हेर्नुहोस्। जोशीको यो योगदान नभएको भए काँग्रेसको राजनीति आज कहाँ हुन्थ्यो ।
अरबौँ लुट्ने पार्टी भित्र र बाहिरका नेताको विरोधमा केही बोल्न नसक्ने काँग्रेसले के खाली खुम बहादुर खड्का र गोविन्द राज जोशीलाई मात्र भ्रष्टाचारी देख्ने?। हेर्ने नै हो भने पार्टीको सङ्गठन विस्तारमा उनीहरूको अतुलनीय योगदान छ। जिल्लामा राम्रो पकड भएका नेता र नेतृत्वलाई चुनावमा टिकट नदिने खेलले नेकालाई आज प्रतिपक्षमा पुरयाएको छ ।
अझै ढिलो भएको छैन। अघिल्लो चुनावमा भाइ फुटे गवार लुटे को स्थिति आएको थियो। अब फेरि उही दोहोरिने हो भने तनहुँ जिल्ला काँग्रेस मुक्त हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
