Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता


  • मंगलबार, चैत्र २६ २०८१

  • राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

    काठमाडौँ-   राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मंगलबार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रिय कार्यसमितिको टोलीले शितल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्दै फोटो पत्रकारहरूको योगदान र समाचारका लागि फ्रन्टलाईनमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विभिन्न विषयबारे छलफल गरेको हो ।

    भेटमा राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु हुँदै “तपाईंहरूको खिचेका तस्बिरहरूले समाजमा सचेतना फैलाउन र समाचारलाई तथ्यगत बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस कारण, राज्यले तपाईंहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्ने छ।”

    सो क्रममा एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि जीवन बीमा लगायतका सुविधाहरू उपलब्ध गराउन पहल गरिदिन राष्ट्रपति पौडेललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “फ्रन्टलाइनमा खटेर देशभर फोटो पत्रकारिता गरिरहेका फोटो पत्रकारहरू उच्च जोखिममा रहेर काम गर्नु परिरहेको बाध्यात्मक अवस्था छ । राज्यले सबैलाई सुरक्षाको सुनिश्चितता गर्दै जीवन बीमालगायतको सुविधा उपलब्ध गराउनु पर्छ ।”

    राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिएको र यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिनु भएको महासचिव घनश्याम श्रेष्ठले बताउनु भयो । एनएफपिजे नेपालले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा वैशाख १३ गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड-२०२५ को प्रमुख अतिथिको रुपमा सहभागी भई दिन राष्ट्रपति समक्ष निमन्त्रणा पत्र पनि प्रदान गरेको छ ।

    भेटघाटमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ लगायत अन्य केन्द्रीय सदस्यहरूको पनि उपस्थिति थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij